काठमाडौ । राष्ट्रिय सहकारी बैंकमा बैंकको संचालक समिति चयनमा नेपाली कांग्रेसले चरम राजनीति गर्न थालेको छ । बैंकको खुल्ला संचालकमा आफू निकट व्यक्ति पार्नका लागि कांग्रेसका महामन्त्रीदेखि पुर्व मन्त्रीहरुसमेत सक्रिय भएका छन् । बैंकको खुल्ला ४ जना संचालकको लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १२ जना नेपाली कांग्रेस निकट सहकारीकर्मी रहेका छन् ।
कांग्रेसका दुवै महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आफू निकट व्यक्तिलाई बैंकको संचालकका लागि उम्मेदवार उठाएका छन् । राजेन्द्र कुमार रिजाल महामन्त्री शर्माका उम्मेदवार हुन्, भने नवराज न्यौपाने थापाका उमेदवार हुन् । त्यसैगरी माधवलाल देवकोटा पुर्व गृहमन्त्री बालकृष्ण खाँडका उम्मेदवार हुन् भने ध्रुवनारायण यादव विमलेन्द्र नीधिको उम्मेदवार हुन् । त्यस्तै माधव दुलाल नेपाली कांग्रेसको सहकारी विभाग पूर्व प्रमूख आनन्द ढुंगाना र सचिव सुरेन्द्र भण्डारीको उम्मेदवार हुन् । खुल्ला संचालकका अन्य उम्मेदवारहरु भने कांग्रेसमा आस्था राखेपनि आफूखुसी उठेको बताउछन् ।
कांग्रेस निकट मानिए पनि संचालकमा उम्मेदवारी दिएका केदार मानन्धर भने लामो समयदेखि सहकारी अभियानमा सक्रिय छन् । उनी हाल पनि बैंकको संचालक नै छन् । दुई कार्यकाल दोहोर्याउन पाउने भएकोले पनि उनी फेरी संचालकमा आउन चाहन्छन् ।
मानन्धरले सहकारी क्षेत्रमा गरेको योगदानको राम्रो जानकारी पाएर होला शुक्रबार विहान भने नेपाली कांग्रेसका महामन्त्रीद्धय शर्मा र थापाले फोन गरेर नै हाम्रो तर्फबाट पनि तपाई नै आधिकारिक उम्मेदवार हो मानन्धरज्यू अगाडी बढ्नुस् भनेका छन् । त्यस्तै पुर्व गृहमन्त्री बालकृष्ण खाँडले पनि कुनैपनि हालतमा संचालक पदबाट उम्मेदवारी फिर्ता नलिन बारम्बार मानन्धरलाई अनुरोध गरिरहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने नेपाली कांग्रेसमा ढुंगानाइतरका नेताहरुको समर्थन मानन्धरलाई रहेको छ ।
मानन्धरका अनुसार नेपाली कांग्रेस पार्टीको सहकारी विभाग प्रमुख भएका आनन्द ढुंगानाले सहकारी बैंकमा नेपाली कांग्रेसको तर्फबाट जाने संचालकहरु तपाईको नेतृत्वमा जानुपर्छ, त्यसैले उम्मेदवारी दर्ता गर्नुहोस् भनेका थिए । त्यसैले उनले खुल्ला संचालकमा उम्मेदवारी दर्ता पनि गराए । तर पछि भने मानन्धरसँग कुनै सम्पर्क नै नगरी ढुंगानाले कांग्रेस पार्टीको निर्णय भन्दै चार जनाकाे नाम पठाए । जसमा मानन्धरको नाम काटेर दुलालकाे राखिएको बताइएकाे छ ।
मानन्धरले भने, ‘म नेपाली कांग्रेसको भोटर हो तर एक सच्चा सहकारीकर्मी भएकोले पनि सहकारी बैंकमा संचालकको लागि दावी गरेको हुँ । मसँग अनुभव रहेकोले थप काम गर्न सकिन्छ की भनेर पुनः संचालक हुन खोजेको हुँ । सहकारीकर्मीहरुको पुर्ण साथ हुनेछ भन्नेमा विश्वस्त छु ।’
४ पदका लागि कांग्रेस निकट नै १२ जना उमेदवार रहेपछि नेपाली कांग्रेसका एक नेताले मजाकमा भने, ‘नेपाली कांग्रेस यत्तिसम्म लोकतान्त्रिक पार्टी हो, उ आफूहरुविच नै प्रतिष्पर्धा गर्दछ ।’
बैंकमा संचालकहरुको लागि १६ गते हुने निर्वाचन हुदैछ । साधारणसभामा चार जना खुल्ला संचालक, कर्णाली प्रदेश संचालक एक जना र दुई लेखा समिति सदस्यहरु गरी ७ जनाको लागि निर्वाचन हुनेछ ।
प्रतिक्रिया