काठमाडौं–“उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाबाट एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईका अनुसार बवरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यामा तुल्सीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला , मोतिलाल दुगड,राधेश पन्त महेन्द्र कुमार गोयल, भरतराज ढकाल र प्रो.हिरेन्द्रमान प्रधान सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु¥याउदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने गोल्यानले बताए ।
सो साधारणसभाको मुख्य अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी थिइन् । साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको अर्थमन्त्रीलगायतका महत्वपूर्ण ओहदाको सफलतापूर्वक नेतृत्व गरी राष्ट्रको अर्थतन्त्रलाई गतिशिल बनाउन अहम् भूमिका र योगदान पु¥याएका वरिष्ठ अर्थविद् डा. युवराज खतिवडालाई सिबिफिनले सम्मान समेत गरेको थियो ।
प्रतिक्रिया