काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको पूर्व सञ्चालक ध्रुब नारायण यादव पक्राउ परेका छन्। विभिन्न सहकारीमा बचत गरेका बचतकर्ताहरुको रकम ठगी गरी लाखौ रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, धनुषाले यादवलाई पक्राउ गरेको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष समेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायका अनुसार यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।
एक बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखेर कर्जा लिएको र तिरिसकेको महिनौ हुदा पनि फुक्का नभएर लिलामीको अवस्थामा पुगेपछि ति बचतकर्ता प्रहरीमा उजुरी दिन पुगेका थिए । ति बचतकर्ताकै उजुरीका आधारमा यादवलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको रायले जानकारी दिए । ति उजुरीकर्ता मात्र नभएर जिल्लाभर धेरै सहकारीका बचतकर्ताहरु यादवद्धारा पिडित रहेको पाइएको र सो विषयमा थय अनुसन्धान भइरहेको पनि रायले जानकारी दिए ।
यादव नेपाली कांग्रेसका सभासद विमलेन्द्र निधि निकट मानिन्छन् । उनले गत पुसमा सहकारी बैंकमा भएको संचालकहरुको निर्वाचनमा पनि खुल्ला सदस्यतर्फ उमेदवारी दिएका थिए ।
सहकारी बैंकमा संचालक हुदा उनले सहकारीहरुलाई बैंकबाट ऋण उपलव्ध गराउने भन्दै कमिसन खानेगरेको आरोप लागेको थियो । तर सो समयमा कसैपनि उनलाई हटाउन सकेको थिएन । पक्राउ परेका यादव मधेश प्रदेशको तत्कालीन कृषि मन्त्री शैलेन्द्र प्रसाद साहको सल्लाहकार समेत हुन्।
प्रतिक्रिया