वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको पैसा मिटरव्याजमा !

अर्थटुडे
२०७९ माघ १२, बिहीबार

काठमाडौं । पछिल्लो समय काठमाडौ र ललितपुरका केही सहकारीहरु मिटव्याजमा सक्रिय रहेको पाइएको छ । उनीहरुले मिटरव्याजमा पैसा दिने र लिने दुवै गर्न थालेका छन् । सहकारी संस्थाहरुले निक्षेप फर्काउन नसकेपछि बचतकर्ताहरु हेरेर मिटरव्याजमा लिएको रकमको केही अंश बचत फिर्ता दिने र ऋणी हेरेर मिटर व्याजमा लगानी गर्ने गरेको पाइएको छ ।

अर्थटुडे डटकमलाई प्राप्त जानकारी अनुसार केही सहकारीहरु खुलेआम नै मिटरव्याजमा सक्रिय रहेका छन् । उनीहरुले रकमको भोलुम हेरेर व्याज लिने गरेका छन् । सहकारीहरुले रकम हेरेर कम्तीमा २४ देखि बढीमा ६० प्रतिशतसम्म व्याज लिने गरेको पाइएको छ । अर्थात् सयकडा दुईदेखि पाँचसम्म लिने गरेको पाइएको छ।

एक सहकारी संस्थाका सिइओको अनुसार ६० प्रतिशत पाउनका लागि कम्तीमा ५० लाख रुपैयाँ हुनुपर्छ । तर सो रकम संस्थाको नाममा होइन सहकारी संस्थाको सिइओ वा अध्यक्षको नाममा हुनेछ । त्यसको वदलामा उनीहरुले बचत राख्नेलाई निश्चित अवधिपछिको चेक काटेर दिनेछन् भने ऋणीबाट पनि त्यसैगरी चेक नै लिने गरेका छन् । पछिल्लो समय कतिपयले भने सहकारी संस्थाकै चेक पनि चलाउन थालेका छन् बचतकर्ता र ऋणीको विश्वासको लागि ।

यदी समयमा नै रकम फिर्ता आएन वा गर्न सकिएन भने चेक बाउन्सको मुद्धा लाग्छ । पछिल्लो समयमा अधिकांश चेक बाउन्सका मुद्धा भनेको मिटरव्याजको हो । यसमा सहकारीका संचालक र कर्मचारीहरु नै संलग्न रहेको पाइएको छ ।
पछिल्लो समयमा सहकारीहरुले बचत फिर्ता दिन सक्दैनन् भन्ने हल्लाले बचतकर्ताहरुमा पनि बचत समयमा नै फिर्ता पाइन्छ भन्ने आश गर्न छोडिसकेका छन् । उनीहरु दैनिक कराउन आउदैनन् बरु केही दिन कुरेर बचत फिर्ता लिन चाहन्छन् ।

केही समयपछि फिर्ता लिन मान्ने बचतकर्ताहरुको रकम भने सहकारीका सिइओ वा अध्यक्षहरु मिलेर मिटरव्याजमा लगाउने गरेका छन् । यदी राम्रो बचतकर्ता छैन र रकम फिर्ताको लागि झगडा गर्छ भने उसको रकम फिर्ता नगरिदिने र झुलाइदिने अनि प्रहरीकोमा गएर ठगी मुद्धा हाल्नका लागि उक्साउने गरेका छन् ।

जसले गर्दा प्रहरीले ठगी मुद्धामा सहकारीका संचालक र सिइओहरुलाई पक्राउ गरेपनि केही दिनमा छोड्ने हुदा समस्यामा परेको बेलामा पनि सहकारीका संचालक र सिइओहरुले उठेको रकम मिटर व्याजमा लगाएर फाइदा लिइररहेको न्युरोडका एक सहकारीका सिइओले एक अनौपचारिक कुराकानीका क्रममा भने ।

उनका अनुसार यस्तो काममा सवैभन्दा बढी सक्रिय सहकारीहरु भने ठमेल, न्युरोड, गोंगवु,पुल्चोक क्षेत्रका सहकारीहरु रहेका छन् । सहकारीहरुले मिटरव्याजमा पैसा लगाउने र लिने गरेको कुराको पुष्टी गर्छ पुर्व अर्थसचिव रामेश्वर खनालको ट्वीटले ।

गत मंसिर १५ गते पुर्व अर्थसचिव खनालले एक ट्वीट गरी सहकारीले मिटरव्याजीहरुलाई लगानी गरेको दावी गरेका थिए । उनले ट्वीटमा लेखेका थिए,‘सहकारीको लगानी मिटरव्याजीलाई ! सहकारी बारे जानेको ज्ञान जति सब भष्मै भो।’
ललितपुरको एक सहकारीले त प्रहरीका एसएसपी, डिआइजीहरुको रकम बचतमा लिने उनीहरुलाई धेरै व्याज दिने र उनीहरुकै आडमा मिटरव्याजीलाई लगानी गर्ने गरेको पाइएको छ । यसविषयमा सहकारी विभाग र नेपाल राष्ट्र बैंक पनि जानकार रहेको छ । तर उनीहरुले पनि कुनै एक्सन लिन सकेका छैनन् । हरेक गृहमन्त्रीलाई हातमा लिन सक्ने क्षमता भएका सो सहकारीका संचालकलाई अहिलेसम्म राज्यले कुनै काबारही गर्न सकेको छैन ।

सहकारी विभागका प्रबक्ता टोलराज उपाध्यायले सहकारीहरुले बढी व्याज लिएको वा दिएको पाइएमा सहकारी ऐन २०७४ अनुसार कारबाही गरिने जानकारी दिए । उनले भने, ‘हामीले सहकारीहरु मिटर व्याजमा संलग्न भएको कुरा हेर्न मिल्दैन, त्यो प्रहरीले खोजी गर्ने हो । हामीले सहकारीले कति व्याज लिने र दिने गरेको छ भनेर हेर्ने गरेका छौ । यदी सन्दर्भ व्याजदर भन्दा बढी लिएको वा दिएको भेटेमा ऐन अनुसार कारबाही गर्छौ ।’

सहकारी ऐन २०७४ अनुसार कुनैपनि सहकारीले ऐन विपरित काम गरेमा त्यस्ता सहकारीलाई बढीमा १० लाख सम्म जरिवाना हुने छ । त्यस्तै सन्दर्भ व्याजदर कमिटिले सहकारी क्षेत्रमा १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने व्यवस्था गरेको छ । तर सो व्यवस्थाको पालना न सहकारीले गरेको छ न विभागले नै कडाइका साथ अनुगमन गरेको छ ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले मिटरव्यजमा पैसा लगाउने कुरा आफ्नो लागि नौलो भएको बताए । उनले भने, ‘सहकारीले मिटरव्याजमा रकम लगाउन वा उठाउन नै पाउदैन, यदी त्यसो गरेको पाइएमा हामी सम्बन्धीत संस्थाको बारेमा बुझेर त्यस्तो नगर्नका लागि आग्रह गर्दछौ ।’ त्यस्तै उनले मिटरव्याजमा संलग्न सहकारी भेटिएमा उनीहरु संलग्न रहेको जिल्ला संघ, प्रदेश संघ वा केन्द्रिय संघलाई उचित कारबाहीको लागि आग्रह पनि गरिने जानकारी दिए ।

हामीसँग मिटरव्याजमा कारोबार गर्ने सहकारी संस्थाहरुको नाम र प्रमाणहरु छन् । नाम सार्वजनिक हुदा बचतकर्ताहरु थप समस्यामा पर्ने भएकोले उनीहरुलाई ध्यानमा राख्दै ति सहकारी र संचालकको नाम सार्वजनिक गरेका छैनौ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ