काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालको शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत पुस महिनामा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।
त्यस्तै ६ महिनामा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यसैगरी २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत ६ महिनामा १०.प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया