काठमाडौ । व्यक्तिगत निक्षेप २५ लाख रुपैयाँ भन्दा बढी राख्न नपाउने गरी संशोधन हुन लागेको सहकारी ऐनको विरोध गर्दै सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघ घेरेका छन् । सरकारले फास्ट ट्राकबाट पास गर्न लागेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मा सहकारी ऐन २०७४ मा सहकारीले २५ लाख रुपैयाँ भन्दा बढी व्यक्तिगत बचत राख्न नपाउने प्रावधान राखिएको छ । सो बुदा हटाउनका लागि पहल गर्न महासंघलाई दवाव सिर्जना गर्ने उदेश्यले सहकारीकर्मीहरुले मंगलबार सहकारी महासंघ घेरेका हुन् ।
करिव हजारको संख्यामा पुगेका सहकारीकर्मीहरुले महासंघका अध्यक्ष मिनराज कँडेललाई भेटेर १३ बुदे ज्ञापनपत्र बुझाउदै सहकारी क्षेत्र जोगाउनका लागि हदैसम्मको पहल गर्न आग्रह गरे । सहकारीकर्मीहरुको नेतृत्व गरिरहेका नरेन्द्र विष्टले महासंघले सहकारीको समस्या बुझेर हाल देखिएको समस्या छिट्टो समाधानका लागि अपनाउनुपर्ने सम्पुर्ण प्रकारका उपायहरु अपनाउन आग्रह गरे ।
अभियानले सहकारी क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्यालाई सामूहिक समस्याकोरुपमा स्वीकार गर्दै राज्य र अभियानको तर्फबाट समाधानका लागि आवश्यक सम्बोधन गर्नुपर्ने, सन्दर्भ ब्याजदर तत्कार खारेज गरि ब्याजदर स्वतन्त्ररुपमा बजारलाई नै निर्धारण गर्न दिनुपर्ने, तरलता संकट ब्यवस्थापनका लागि राज्यले कोषको ब्यवस्था गर्नुपर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण तत्काल स्थापनाका लागि पहल गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रमार्फत रोक्का गर्ने व्यवस्था तत्काल लागू गर्ने ,व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरि सहकारी ऐन संशोधन गर्न लागिएकोमा विरोध एवं दवाव सिर्जना गर्ने, प्रारम्भिक संस्थाका संचालक, व्यवस्थापक र कर्मचारीलाई निर्वाधरुपमा त्रासमुक्तरुपले संस्था संचालन गर्ने वातावरण हुनुपर्ने । सदस्यहरुको बचत सुरक्षाका लागि आवश्वस्त हुने वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने । ब्याजकर दाखिला गर्ने समय एक वर्ष थप गर्नका लागि दवाव दिने । संस्था संचालनका लागि आवश्यक वातावरण बनाउन कूलिङ पिरियड घोषणा गर्नुपर्ने माग पनि राखेका छन् ।
सहकारी नियमनका लागि सेकेन्ड टियर ईन्स्टिटुसन को व्यवस्था गर्नुपर्ने, सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने र सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि यसअघि महासंघद्वारा गठित समितिहरुका काम प्रभावकारी र परिणाममुखी हुनुपर्ने माग पनि सहकारीकर्मीहरुको रहेको छ ।
यस्तो छ सहकारीकर्मीहरुको १३ बुदे ज्ञापनपत्र
प्रतिक्रिया