वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिट्यान्समा आएको बृद्धिले बैंकको निक्षेप ५८ खर्ब नाघ्यो

अर्थटुडे
२०८० आश्विन १८, बिहीबार

काठमाडौ । निरन्तर रेमिट्यान्समा आएको बृद्धि र सरकारले स्थानिय तहको संचित रकमबाट निक्षेप गणना गर्न पाउने सुविधा दिएसँगै वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार आईतबारसम्ममा बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएपछि बैंकहरुको निक्षेप उच्च विन्दुमा पुगेको हो । शनिबार वित्तीय प्रणालीमा ५७ खर्ब ९२ अर्ब निक्षेप रहेको थियो ।

गत आवसम्ममा बैंक, वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ थियो । तर, सरकारले स्थानिय तहको संचित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा कटौति गर्दै ५० प्रतिशतमा झारेपछि चालु आवको दुई दिनमा एक खर्ब ९ अर्ब रुपैयाँले घटेको थियो । तर, बैंकरसँगको छलफलपछि भदौ दोस्रो साता अर्थमन्त्री डा. प्रकाशशरण महतले पुनः स्थानिय तहको संचित कोषको रकममध्ये ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएका हुन् । यसैगरी रेमिट्यान्स आप्रवाह उच्च भएपछि बैंकमा निक्षेप बढिरहेको छ ।

निक्षेप बढेपनि बैंकहरुको कर्जा प्रवाह भने सुस्त छ । अर्थमन्त्रीले आर्थिक गतिविधि चलायनमान बनाउनका लागि ऋण प्रवाह बढाउनका लागि निक्षेप गणनाको सुविधा दिएका थिए । आईतबारसम्ममा बैंक, वित्तीय संस्थाले कुल ४९ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आवको अन्तिममा कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रहेको कर्जा साढे २ महिनामा ६० अर्बले मात्र बृद्धि भएको छ । निक्षेप बृद्धिको तुलनामा कर्जाको माग बढ्न नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेको छन् ।

निक्षेप बृद्धिसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसीयो) पनि घटेको छ । शनिबार ८२ दशमलव २१ प्रतिशतमा रहेको सीडी रेसियो आईतबार ८२ दशमलव ०५ प्रतिशतमा झरेको छ । यसैगरी तरलता उच्च हुँदा अन्तरबैंक कारोबारको औशत ब्याजदर पनि ५ दशमलव ५२ प्रतिशतमा झरेको छ । बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी लगानी गर्न पाउने ब्यवस्था छ । जसअनुसार बैंकहरुसँग ४ खर्ब ६१ अर्ब थप कर्जा प्रवाह गर्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ