काठमाडौं । सरकारले आर्थिक सूचकहरु सकारात्मक रहेको दावी गरिरहेका बेला उद्योगी व्यवसायीहरुले भने अझै जोखिम कायमै रहेको चेतावनी दिएका छन् । निजी क्षेत्रका व्यवसायीक संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिमण्डलले आइतबार संयुक्त रुपमा प्रधानमन्त्री पुश्पकमल दाहालसँगको भेटमा अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजन्द्र मल्ललगायतका व्यवसायी सहभागि थिए । प्रधानमन्त्री दाहालले अर्थतन्त्रका बारे जानकारी लिन तिनै संस्थाका अध्यक्षलाई बोलाएका हुन् ।
भेटमा उनीहरुले न्युन मागका कारण औसतमा उद्योगहरु ४० प्रतिशत भन्दा कम क्षमतामा चलिरहेका बताएका छन् । कोभिड १९ काे महामारीपछिको तिव्र विस्तार व्यवस्थापन गर्न नसक्दा अपनाइएका नीतिले भुक्तानी सन्तुलन र विदेशी विनिमय संचितिमा उच्च सुधार भएपनि बजारमा कारोबार भने निक्कै सुस्ताएको उनीहरूले जानकारी दिए ।
नियामक निकायहरुको नीतिका कारण अर्थतन्त्रमा साना व्यवसायीबाट शुरु भएको समस्या बैंक वित्तिय संस्थामा पुगिसकेको छ । बैंक वित्तीय संस्थापछि यसको असर सरकारको राजश्वमा समेत परिरहेको भन्दै निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको हो ।
‘न्युन माग छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल छ र आयोजना निर्वाध रुपमा चलाउन सकिएको छैन,’ महासंघ अध्यक्ष ढकालले भने, ‘सरकार समस्या समाधानका लागि तप्पर हुनैपर्छ ।’ उनले बजारमा माग बढाउन सरकारे पूँजीगत खर्च बढाउनुपर्ने, गाउँ र साना शहरहरुमा रकम प्रवाह हुने गरि पुर्नकर्जा लगायतको कर्जा सुविधा विस्तार गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।
परिसंघका अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई निर्वाध काम गर्ने वतावरण हुनुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले घरजग्गा र सेयर कर्जामा रहेको जोखिम भारको व्यवस्थालाई एक सय प्रतिशतमा झार्नुपर्ने उल्लेख गरे । यसैगरि चालु पूँजी कर्जाको बिषय बैंक र ऋणीले नै तय गर्न सक्ने गरि छुट दिइनुपर्ने उनको भनाइ थियो ।
भेटमा प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सुझाव अनुरुप अर्थतन्त्र सुधारका लागि सरकारले पहल गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया