काठमाडौ । नेपालको कमजोर कुटनीतिका कारण भारतले नोटबन्दी गरेको ८ बर्षवितिसक्दा पनि नेपालमा रहेको करिव ५ करोड बराबरको भारतीय नोट साटिएको छैन ।
भारतीय ५०० र १००० दरका नोट अहिलेपनि नेपाल राष्ट्र बैंकको भल्टमा रहेको छ । सन् २०१६ को नोभेम्बर महिनादेखि भारतमा नोटबन्दी लागु भएको थियो । सो समयमा भारत सरकारले ५०० र १००० दरका नोटलाई चलनचल्तीबाट हटाएको थियो ।
तर भारतमा कामकाजका लागि गएका नेपालीहरुले भने सो दरका नोटहरु नेपाल भित्र्याएका थिए । उनीहरुबाट संकलन गरिएको ५ करोड रुपैयाँ बराबरको भारु नेपालसँग रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार पटक पटक रिजर्भ बैंक अफ इन्डिया (आरविआइ) लाई सो दरका नोटहरु साटिदिन आग्रह गरिएपनि आरविआइले कुनै निर्णय दिएको छैन । तत्कालिन गभर्नर डा.चिरन्जीवी नेपालले सिधै आरविआइसँग सम्पर्क गरी सो दरका भारु साटिदिन आग्रह समेत गरेका थिए । तर सरकारको निर्णय विना साट्न नसक्ने भन्दै आरविआइले लिखित रिप्लाइ दिएन ।
भारती विदेश मन्त्रालयका एक उच्च अधिकारीका अनुसार साट्न पर्ने रकम बढ्दै गएकोले कुनै निर्णय हुन नसकेको हो । उनले भने, ‘नेपालबाट रकम साट्नका लागि आग्रह गरिएनैपिच्छे रकम बढ्ने गरेकोले निर्णयका लागि भारतीय सरकार अलमलमा परेको हो ।’
उनले हाल नेपालमा रहेको ५०० र १००० दरको भारुको विषयमा वित्त मन्त्रालयमा जानकारी पुगेको र चाडै नै सो बारे निर्णय हुने पनि बताए ।
नेपाल राष्ट्र बैंकले भने नोटबन्दी भएको केही महिनासम्म नेपालमा भारुको सो दरका नोट कलेक्सनका लागि समय लागेकोले उनीहरुले भन्ने वित्तिकै यत्ति रकम भनेर ठोकुवा गर्न नसकेपनि पछिल्ला बर्षहरुमा तोकिएको रकम मात्र (पाँच करोड बराबरको भारु) साटिदिन आग्रह गरिएको बताएको छ ।
प्रतिक्रिया