काठमाडौ । सरकारले संविधान दिवसको अवसर पारेर सर्वसाधरणलाई धरहरा चढ्का लागि खुला गर्ने भएको छ । मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) परियोजनाले भोलि (विहिबारदेखि) सर्वसाधारणको लागि खुल्ला गर्ने भएको हो ।
गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहरी विकास मन्त्रालयले परियोजनालाई खुल्ला गर्न निर्देशन समेत दिएको थियो ।
विहिबारदेखि दैनिक ५०० जनालाई धरहरा चढ्न दिइने परियोजनाका प्रमूख कोषनाथ अधिकारीले जानकारी दिए । धरहरा चढ्नका लागि अनलाईन मार्फत टिकट काट्ने व्यवस्था गरिने पनि अधिकारीले जानकारी दिए ।
विहिबार भने धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजनाले जनाएको छ ।
हाललाई भने धरहराको प्रवेश टिकट र पार्किङ निःशुल्क हुनेछ । धरहरा संचालन तथा व्यवस्थापन कार्यविधि अझै बनी नसकेकोले कसरी संचालन गर्ने भन्नेबारे अन्यौलता भने अझै रहेको अधिकारीले जानकारी दिए ।
भूकम्पले भत्किनुअघि संघिय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । नयाँ धराहरा बनेपछि भने संघिय सरकारले धरहरा अब आफैले संचालन गर्ने देखिएको छ ।
गत भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरिसकेको छ ।
प्रतिक्रिया