काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा निर्जीवन बीमा कम्पनीहरुले ७१ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार लघुबाहेकका १४ ओटा निर्जीवन बीमा कम्पनीहरुको चालु आवको असोजसम्ममा बीमाशुल्क संकलन ९ प्रतिशतले बृद्धि भई ११ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत आवको असोजसम्ममा १० अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
कम्पनीहरुको बीमाशुल्क संकलन बृद्धि भएपनि जारी बीमालेखको संख्या भने घटेको छ । गत आवको असोजसम्ममा कम्पनीहरुले ६ लाख ८१ हजार बीमालेख जारी गरेकोमा यसवर्ष भने ६ लाख ६८ हजारमा झरेको छ ।
चालु आवको असोजसम्ममा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम नेशलन इस्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । चालु वर्षमा प्रभु, हिमालयन एभरेष्ट, युनाइटेड अजोड र सानिमा जिआइसीको बीमाशुल्क भने गत वर्षको तुलनामा घटेको छ ।
चालू आवको असोजसम्ममा लघुबीमा कम्पनीहरुले भने ६९ हजार ७९० ओटा बीमालेख जारी गर्दै १८ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । गत वर्षको यसै अवधिमा २ हजार ९७२ ओटा बीमालेख जारी गरी कम्पनीहरुले ९१ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले गरेको ब्यवसायको अवस्था
प्रतिक्रिया