काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको समयसीमाभित्र उद्योगहरुले बक्यौता रकम नबुझाए पुनः लाइन काट्ने बताएका छन् । विहिबार अचानक पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारलाई उद्योगी व्यवसायीहरुले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नबुझाएर इमोसनल व्याकमेलिङ गरिरहेको पनि बताए ।
कार्यकारी निर्देशक घिसिङले ‘२८ वटा उद्योगले बक्यौता रकम बुझाएका छ्रैनन्, सरकारले ती उद्योगबाट १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न निर्देशन दिएको छ’, उनले भने, ‘हाललाई २४ घन्टाभित्र लाइन जोडिन सरकारले निर्देशन दिएको छ। प्राधिकरणले सरकारले निर्देशन पालना गर्छ।’
घिसिङका अनुसार कुल ३३९ उद्योगले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत सेवा लिएका थिए। ‘तीमध्ये अधिकांशले बक्यौता रकम चुक्ता गरिसकेका छन’, उनले भने, ‘बाँकी ३५ वटामध्ये ७ वटाको स्टे अर्डरमा छ। २८ वटाले भने हालसम्म प्राधिकरणले दिएको २८ किस्ता सुविधामा एक किस्ता पनि बुझाएका छैनन्।’
उनले पत्रकार सम्मेलनमा ठूला उद्योगीहरुले बक्यौता रकम नतिर्दा सर्वसाधारणले पनि विजुलीको रकम नतिरेको भन्दै पछिल्लो समयमा करिव पाँच अर्ब रुपैयाँ प्राधिकरणलाई घाटा लागेको पनि दावी गरे ।
घिसिङले प्राधिकरण १५ दिनभित्र विद्युतको बक्यौता रकम उठाउनतिर लाग्ने बताए। ‘उद्योगहरुले सरकारको निर्देशनबमोजिम १५ दिनभित्र बक्यौता बुझाउनुपर्नेछ’, उनले भने, ‘यसअघि प्राधिकरणले उद्योगहरुलाई २८ किस्ता सुविधा दिएको थियो। सुरुमा १ किस्तामात्रै जम्मा गरेमा लाइन जोड्यौँ। तर, ती २८ वटा उद्योगले १ किता पनि बुझाएका छैनन्।’
अब १५ दिनभित्र ती उद्योग बक्यौता रकम नबुझा प्राधिकरण आफ्नो प्रक्रियामा फेरि लाग्ने घिसिङले स्पष्ट पारे। ‘अब नेपाल सरकारले पनि १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न भनिसकेको अवस्था छ’, उनले भने, ‘अब यो सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालय सबैको दायित्वभित्र आएको छ। १५ दिनभित्र बक्यौता रकम बुझाएन भने अब सरकार र मन्त्रालयले यो रकम उठाउनतिर लाग्छ भन्ने पूर्ण विश्वास छ।’
प्राधिकरण आफ्नो नियम–कानुनअनुसार अगाडि बढ्ने पनि प्राधिकरणले जनाएको छ। ‘यसअघि पनि प्राधिकरणले प्रधानमन्त्री र विद्युत नियम आयोगको लिखित निर्देशनमा प्राधिकरणले ३ महिनाको समय दिएकै हो’, उनले भने।
प्रतिक्रिया