काठमाडौ । नेपालबाट भोलिदेखि विद्युत बंगलादेशमा निर्यात हुने भएको छ । भारतले अन्तिम स्वीकृति दिएसँगै नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको हो । बंगलादेशमा बिजुली बेच्न गत असोज १७ गते काठमाडौंमा नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबिच त्रिपक्षीय सम्झौता भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्नेछ ।
उर्जासचिव सुरेश आचार्यका अनुसार तीन ओटै देशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बंगलादेश निर्यातको शुभारम्भ गरिने छ ।
नेपाली समय अनुसार दिनको १२ः ४५ बजे परराष्ट्र मन्त्रालयको सभाहलमा कार्यक्रम गरेर तिनओटै देशका उर्जा मन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर बिजुली पठाउने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।
नेपालले वर्षायामका पाँच महिना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) बंगलादेश लाई बिजुली बेच्ने सम्झौता भएकाले यस वर्षका लागि भोलि राति १२ बजेसम्म मात्रै बिजुली बेचीने छ ।
नेपालले पहिलो पटक डलरमा विद्युत् बिक्री गर्न लागेका हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युतको मीटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केवरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुग्नेछ ।
प्रतिक्रिया