काठमाडौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि राष्ट्रिय सहकारी बैंकले संचालक महेन्द्र गिरीलाई अध्यक्षमा चयन गरेकाे छ ।अध्यक्ष केवी (कृष्ण बहादुर) उप्रेती सहकारी ठगी आरोपमा गिरफ्तार भएपछि राष्ट्र बैंकले संचालकमध्येबाट अध्यक्ष चयन गर्न निर्देशन दिएको हो ।
विहिबार संचालक शिवा थापाको अध्यक्षतामा संचालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । अध्यक्ष गिरीको कार्यकाल दुई बर्षको रहनेछ । उनी झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाकाे प्रतिनिधित्व गर्दै बैंककाे संचालक बनेका हुन् ।
उप्रती अध्यक्ष रहेकाे आइडल यमुना हाम्राे बचत तथा ऋण सहकारीमा समस्या देखिन थालेपछि लामाे समय उपचारका लागि भारतमा रहेकाे भन्दै सम्पर्कविहिन भए । नेपाल आएपछि गत असारमा गिरफ्तार उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।
अध्यक्ष उप्रेतीको अनुपस्थितिमा बैंकले संचालकलाई पालैपालो अध्यक्षता गराएर संचालक बैठक राख्ने गरेको थियो । तर, गत साता नेपाल राष्ट बैंकले संचालकबाट नयाँ अध्यक्ष छनोट गर्न निर्देशन दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकारीले पनि बैंकको अध्यक्षमा राम बहादुर जिसी र रिक्त दुई संचालकमा परितोष पौडेल र मिनराज कँडेल ल्याउन दवाव दिदै आएका थिए ।
लामो समयसम्म पनि नेपाल राष्ट्र बैंकले नयाँ अध्यक्ष बनाउने तरखर नगरेपछि पार्टीको सहकारी विभागमा हुने प्रत्येक बैठकमा अधिकारीले सहकारी बैंकमा किन नयाँ अध्यक्ष नबनाएको भनेर बारम्बार बैंकका संचालकहरुलाई भन्ने गरेकf थिए ।
“हामीले पटक पटक अध्यक्ष उप्रेति पनि दोषी ठहर नभएको अवस्थामा नयाँ अध्यक्ष चयन गर्नु राम्रो होइन भन्ने जवाफ दिदा पनि बैंकको प्रमूख कार्यकारी अधिकृत (सिइओ) बद्रीकुमार गुरागाईलाई फोन गरी बोर्डको बैठकमा नयाँ अध्यक्षको एजेण्डा पेश गर्न दवाव दिने गरेका थिए ” एक संचालकले अर्थटुडेसँग भने । उनले भने, “बैंकको संचालकको बारेमा नेपाल राष्ट्र बैंकलाई समेत कुनै आपत्ति छैन, तर खगराज अधिकारीलाई किन यत्तिको छटपट्टि भएको हो मैले बुझिन ।”
बैंकको संचालक राख्नका लागि अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई पनि पटक पटक फोन गरेका थिए । अधिकारीको पटक पटकको दवाव थेग्न गाह्रो भएको गुरागाईले आफू निकट संचालकहरुसँग गुनासो गर्ने गरेको ति संचालकले बताए ।
बैंठकले हाल भइरहेका अन्य संचालकहरु रामबहादुर जीसी, शिवा थापा, रामहरी बजगाई र केदार मानन्धरलाई भने संचालकमा नै निरन्तरता दिन आग्रह गर्दै राष्ट्र बैंकमा पत्र लेख्ने निर्णय गरेको छ । रिक्त दुई संचालक भने आगामी साधारणसभाबाट निर्वाचित हुनेछन् ।
संचालक मनोज थापा लगातार तिन वटा बैठकमा विना सुचना अनुपस्थिती नियमावली अनुसार उनी स्वत बर्खास्त भएका छन् । यसैगरी अर्का संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा परी मृत्यु भएपछि त्यो पद पनि रिक्त छ ।
बैंकले ६ जना संचालकका संस्थाले लिएको ऋण नियमित गर्न पनि निर्देशन दिएको छ । १५ दिनभित्र ऋण नियमित नभएमा संचालक समितिबाट हटाउन पनि राष्ट बैंकले निर्देशन दिएको छ ।
राष्ट बैंकको निर्देशनपछि संचालक बजगाईले प्रतिनिधित्व गरेको सहकारी संस्थाले २ करोड ३४ लाख र थापाको ६० लाख रुपैयाँ बराबरको ऋणलाई नियमित गरेका छन् ।
संचालकहरु केदार मानन्धर, अमृता सुब्बा आवद्ध रहेको संस्थाले दिएको कर्जा भने नियमित हुन बाँकी छ ।
प्रतिक्रिया