काठमाडौँ । अर्थमन्त्री डा. रामशरण महतले सरकार आफैले ठूला आयोजना निर्माण गर्न लागेको बताएका छन् । आगामी बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रस्तुत सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा.महतले उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारले पनि ठूलो मात्रामा लगानी गर्ने तयारी गरिरहेको बताएका हुन् । उनले आफ्नो सरकारले लगानीका लागि वातावरण अनुकूल बनाएकोले अभूतपूर्वरुपमा लगानी जुट्ने स्थिति बनेको र वैदेशिक सहायता पनि ठूलो मात्रामा आउने प्रतिवद्धता आएकोले सरकारले ठूलो आयोजनाको निर्माण गर्न लागेको बताए ।
सरकार आफै ठूलो स्तरमा ठूला परियोजनाहरुमा लगानी गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने आत्मविश्वासका साथ अगाडि बढिरहेको छ । उनले भने —ठूला आयोजनाहरु सञ्चालन हुँदैछन र त्यो पनि आफ्नै स्रोतमा । अर्थमन्त्री डा.महतले एयरपोर्ट, सडक लगायतका पूर्वाधार सरकारले निर्माण गर्ने जानकारी पनि दिए ।
विदेशी दातृ संस्थाहरु आईएफसी, एसियाली विकास बैंक, विश्व बैंक, युरोपियन इन्भेष्टमेन्ट बैंक लगायत बहुपक्षीय तथा द्विपक्षीय सहायता समेत अभूतपूर्वरुपमा बढ्ने स्थिति निर्माण भएको अर्थमन्त्रीले बताए ।
अर्थमन्त्री डा.महतले निजीक्षेत्रलाई प्रोत्साहन दिने सरकार आएको र निजीक्षेत्रले उठाएका मुद्दाहरु राष्ट्रिय महत्वका भएकोले बजेटमा समेट्न प्रयास गरिने आश्वासन दिएका थिए ।
प्रतिक्रिया