काठमाडौं । बैंक, वित्तीय संस्थाहरुको ऋण असुली तथा धितो लिलामीको समस्याले गैरबैंकिङ सम्पत्ति उच्च हुन थालेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०८१/०८२ को पुससम्म गैरबैंकिङ सम्पत्ति ४० अर्ब ७५ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा गैरबैकिङ सम्पति करिब ७२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष ०८०/०८१ को पुससम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७१ करोड थियो ।
बैंक, वित्तीय संस्थाहरुको ऋण असुली कमजोर भएको र कर्जा नतिर्नेहरुको सम्पति लिलामी समेत गर्न ग्राहो भइरहेको बैंकरहरु बताउँछन् । पछिल्लो समय आर्थिक गतिविधि घट्नुका साथै घरजग्गा कारोबारमा समेत कमी आएपछि बैंकहरुको सम्पति लिलामीमा समस्या देखिएको हो । यसैगरी सहकारी संस्थामा समस्याले पनि गैरबैंकिङ सम्पति बिक्री नभएको बैकहरु बताउँछन् ।
बैंक, वित्तीय संस्थाले प्रवाह गरेको ऋण नउठेपछि धितो लिलामी गर्छन् । त्यसरी लिलामी गर्दा तोकिएको न्यूनतम मूल्यमा त्यस्तो सम्पत्ति तत्कालै बिक्री नभएमा यसलाई बैंक आफैँले सकारेर राख्ने गर्छन् । यसरी सकारेको सम्पत्तिलाई गैरबैंकिङ सम्पत्तिको रूपमा राख्ने गरिन्छ ।
विद्यमान कानुन अनुसार बैंकहरुले गैरबैकिङ सम्पति तीन वर्षभित्र बिक्री गर्नुपर्ने प्रावधान छ । यस्तो सम्पति राख्दा शत प्रतिशत जोखिम व्यवस्था गर्नुपर्ने पनि कानुनी प्रावधान छ ।
प्रतिक्रिया