काठमाडौं । यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका तत्कालीन निमित्त कार्यालय प्रमुख रामदत्त भट्टसहित १६ जना बिरुद्ध सोमबार बिशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्धा दायर गरेको हो ।
मुद्धा चलाइएकामा कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्धय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरु संजीव न्यौपाने, दिलीप सिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालबिरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यसैगरी ड्राइभिङ स्कुल संचालन तथा बिचौलियामा काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाबिरुद्ध पनि मुद्धा दायर गरिएको छ ।
उनीहरुसंग अख्तियारले ५३ लाख ७८ हजार मागदाबी समेत गरेको छ ।
यस्तै विभिन्न मितिको प्रयोगात्मक परिक्षामा फेल भई अनियमित तरिकाबाट जारी भएका १९७ व्यक्तिहरुको सवारी चालक अनुमति पत्र रद्ध गर्नका लागि यातायात व्यवस्था विभागमा लेखी पठाईएको र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट संकलन भएका ३०६ वटा नक्कली सवारी चालक अनुमति पत्रहरू आवश्यक थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो पठाईएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया