काठमाडौं । रसुवाका स्थानीयवासिन्दाले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता नलिए अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले गृहमन्त्री र उर्जामन्त्रीले ठाडो हस्तक्षेप भएको भन्दै तत्काल निर्णय फिर्ता नलिए आगामी भदौ ६ गतेबाट अनिश्चितकालिन रसुवा बन्द गर्ने चेतावनी दिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर स्थानीयबासन्दिाले उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे हाइड्रोपावरमा एकाधिकार जमाई राजनीतिक दलका मतियारलाई भर्ती गरेको उनीहरुको आरोप छ ।
चिलिमे राष्ट्रकै नमूना हाइड्रो पावर रुपमा परिचित भएकाले यसको छवीलाई धुमिल्याउने जो कोहीका विरुद्धमा पनि रसुवाली जनताहरु एक भएर लड्ने बताउँदै उनीहरुले आन्दोलनकारीहरुलाई जबरजस्ती प्रहरी हिरासतमा लिने काम गरेर गृहमन्त्री पनि स्थानीय बासिन्दा विरुद्ध लागेको बताए ।
सवै पार्टीको सहभागीता रहेको संयुक्त पत्रकार सम्मेलनमा नेपाली काग्रेसका जिल्ला सभापति लामा कार्पु तामाङ्ले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णयका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिरहेको वेला राज्यले जनतालाई आतंकित बनाएर मुठभेड सिर्जना गरेको बताए ।
त्यस्तै एकिकृत माओवादीका पूर्व सभासद प्रेम बहादुर तामाङ्ले रसुवाली जनता कुलमान घिसिङ्को पक्षमा भन्दा पनि नेपालमा हाईड्रो पावर बचाउनु पर्छ भन्ने पक्षमा लागेकोले उर्जामन्त्रालयको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । तामाङ्ले सडक देखि सदनसम्म पनि यो विषयमा कुरा उठिसकेको बताउँदै यो आन्दोलनलाई छाँयामा पार्न गृहमन्त्री बामदेव गौतम लागिपरेको आरोप लगाए ।
नेपाली काँग्रेस रसुवाका जल स्रोत विभाग संयोजक जनकजीवन उपाध्यायले कमिशन, घुसखोरी र जलमाफियाका नाममा द्धन्द्ध नचर्काउन चेतावनी दिएका छन् । उनले रसूवामा मुठभेड निम्त्याउने काम गृहमन्त्री बामदेव गौतम र उर्जामन्त्री राधा ज्ञवालीले नै गरेको आरोप लगाउँदै प्रधानीमन्त्री सुशील कोइरालाले तत्काल स्पष्टीकरण लिनुपर्ने बताएका छन् । उनले गृहमन्त्री बामदेव गौतमलाई कमिशन खोरीको र उर्जामन्त्री ज्ञवालीलाई जलमाफियाको आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया