काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुलाई पनि कर छुट दिएर प्रोत्साहन गरिएको बताएका छन् । विहिबार अर्थमन्त्री डा.रामशरण महत र क्यानाडाका लगानीकर्ताहरुबीच नेपालमा लगानी गर्नेबारे भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री डा.महतले नेपालमा लगानीका लागि सरकारले हदैसम्मको लचिलो नीति लिएको उल्लेख गर्दै अन्य मुलुकका लगानीकर्ताहरु पनि नेपालमा संयुक्त लगानीका लागि अध्ययन गर्न आइरहेको र सरकारले लगानीका लागि आवश्यक पर्ने कानुनी र भौतिक पूर्वाधार पनि तयार गरिदिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री महतले एक अर्ब रुपैयाँ भन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र दुई अर्ब रुपैयाँ भन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्णरुपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरुलाई प्रोत्साहन गरिएको बताए ।
नेपालमा कृषि ऊर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै अर्थमन्त्री महतले ती क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालमा लगानी गर्दा दक्षिण एसियामात्र होइन अमेरिका र युरोपको ठूलो बजार पनि प्राप्त गर्न सकिने उल्लेख गर्दै उनले नेपालमा उत्पादन हुने वस्तुलाई यी क्षेत्रमा भन्सार छुटको व्यवस्था भएकाले उत्पादित वस्तु प्रतिस्पर्धी हुने बताए ।
उनले केही हप्ताभित्रै काठमाडौँ–निजगढ द्रुतमार्गको बोलपत्र हुने जानकारी दिँदै त्यसमा सहभागी हुन पनि क्यानाडाका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालको यातायात क्षेत्रमा उच्च महत्व राख्ने यो द्रुतमार्गको निर्माणका लागि निजी क्षेत्र नआएमा सरकार आफँैले पनि कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।
क्यानाडाका लगानीकर्ताहरुले आफूहरु बैंक, ऊर्जा, पर्यटन, फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रमा आकर्षित भएको बताए ।
प्रतिक्रिया