काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले आफूसँग रहेको मौज्दात रकम खर्च नभएको र बैंक तथा वित्तीय संस्थामा राखेर व्याज मात्र खाइरहेको भन्ने गुनासो आइरहेको बेला व्यावसायिक लगानीका लागि नयाँ प्रावधान अगाडि सारेको छ । कम्पनीले १० देखि १५ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्न चाहने बाणिज्य बैंकलाई पुनकर्जा सुविधा उपलव्ध गराउने भएको छ ।
बैंकले पुनकर्जा लिइएको ऋण कुनै एक आयोजनाका लागि ४० करोड रुपैयाँसम्म र एकभन्दा बढी आयोजनाका लागि समूहमा बैंकले लगानी गर्न चाहेमा बढीमा एक अर्ब रुपैयाँसम्म लगानी गर्न सक्नेछन् ।
सुरुमा तीन वर्षका लागि प्रदान गरिने र कम्पनीको सञ्चालक समितिको स्वीकृतिबाट थप दुई वर्षका लागि सो ऋण उपलब्ध गराउन सकिने नीति कम्पनीले लिएको छ ।
ऋण लिनका लागि बैंकले नै सबै प्रकारका जोखिम बहन गर्नुपर्ने र नेपाल राष्ट्र बैंकको मापदण्डमा सञ्चालित उत्कृष्ट वित्तीय कारोबार गरेको हुनुपर्ने छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक दीपक रौनियारका अनुसार कम्पनीसँग रहेको कुल आठ अर्बबाटै सो ऋण प्रदान गरिने छ ।
ऋण लिनका लागि केन्द्रीय बैंकले सूचीकृत गरेको सवै बाणिज्य बैंकले आवेदन दिन सक्ने भएपनि ती बैंकको नकारात्मक पुँजी पाँच प्रतिशतभन्दा बढी हुन नहुने, पुँजी कोष १० प्रतिशतभन्दा कम हुन नहुने र लगातार तीन वर्षसम्म नाफामा रहेको हुनुपर्नेलगायत प्रावधान राखिएको छ ।
यस्तै कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम हुन नहुने र राष्ट्र बैंकले तोकेका न्यूनतम् मापदण्ड नियमित रहेको हुनुपर्नेछ । बैंकहरु कम्पनीको सो प्रावधानसँग सहमत भए अन्य विभिन्न स्रोतबाट रकम जुटाएर भएपनि कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले तीन जलविद्युत् आयोजनामा आफै लगानी गरिरहेको छ भने निकट भविष्यमा नै थप छ आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीमा सरकारको ५० प्रतिशत, बिमा संस्थान, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सर्वसाधारणको २० प्रतिशत सेयर रहेको छ ।
प्रतिक्रिया