काठमाडौं। देशको ब्यापार घाटा एक बर्षमा नै २८.९ प्रतिशतले बढेर ६ खर्ब १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष ब्यापार घाटा २३.९ प्रतिशतले बढेको थियो। कुल ब्यापार घाटालाई बैदेशिक रोजगारीका लागि पुगेका नेपालीहरुले पठाएको पैसा (रेमिट्यान्स)ले पनि नधान्ने देखिएको छ ।
गत आर्थिक वर्षमा पाँच लाख २७ हजार आठ सय १४ जना नेपाली कामदारले पाँच खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ नेपालमा पठाएको थियो ।
त्यसैगरी कुल व्यापार घाटा देशको कुल बजेट सरह भएको छ । अर्थमन्त्रीले चालु आर्थिक वर्षको लागि ६ करोड १८ अर्व बराबरको बजेट प्रस्तुत गरेका थिए ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक बर्षको देशको परिदृश्य अनुसार, कुल बस्तु निर्यात ९० अर्ब २९ करोड रुपैयाँको भएको छ। तर आयात भने सात खर्ब आठ अर्ब ७६ करोड रुपैयाँको भएको छ। आयात अघिल्लो बर्षको भन्दा २७.३ प्रतिशतले बढेको हो।
कुल बस्तु आयातमध्ये भारततर्फको २८.८ प्रतिशतले बढेको छ। अन्य मुलुकतर्फको आयात २४.४ प्रतिशतले बढेको छ। भारतबाट मूख्यतया पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, तारहरु र धोगोको आयातमा बृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार, गत आर्थिक बर्षभरी भारतबाट एक खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ। अघिल्लो बर्ष एक खर्ब सात अर्ब १३ करोडको पेट्रोलियम भित्रिएको थियो।
भारतबाहेक अन्य मुलुकबाट सवैभन्दा बढी सुन आयात भएको नेपाल राष्ट बैंकले जनाएको छ । भारतवाहेका मुलुकबाट सुपारी, कच्चा सोयाविन तेल, चाँदी र पोलिथिन ग्रान्युयल्सलगायतका सामग्री आयात भएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबाट भने सबैभन्दा वढी जिङ्क सिट, गिट्टी तथा वालुवा, जुस र अलैची भारत निर्यात भएको छ। अन्य मुलुकमा उनी गलैंचा, तयारी पोशाक, जडिबुटी र पश्मिनाको निर्यात बढी भएको छ।
प्रतिक्रिया