काठमाडौं । बैक तथा वित्तिय संस्थाहरुलाई सानो आकारको व्यक्तिगत कर्जा लगानीका लागि सहज हुने भएको छ । १५ लाख सम्मको व्यक्तिगत जमानीमा कर्जा प्रवाह गर्दा थप जोखिम व्यवस्था (प्रोभिजिनिङ) गर्नु नपर्ने व्यवस्था गर्दै नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तिय संस्थालाई निर्देशन जारी गरेको छ ।
यसअघि यस्तो कर्जामा धितो कर्जामा गरिएको प्रोभिजन भन्दा थप २० प्रतिशत बढी गर्नुपर्ने व्यवस्था थियो ।
नगदमा आधारित क्रेडिट कार्डलगायतको कर्जामा जोखिम कम हुने भएकाले थप प्रोभिजन गर्नुपर्ने व्यवस्था हटाइएको राष्ट्र बैंकका कायम मुकायम निर्देशक बासुदेव अधिकारीले जानकारी दिए ।
यसका लागि बैंकहरुले आफ्नो सेवाको कार्ययोजना बनाउनुपर्ने र सोही अनुसार कर्जा लगानी गर्नुपर्ने व्यवस्था छ । यसैगरी ऋणीको आम्दानीको स्रोतले कर्जा भुक्तानीको आधार भएको हुनुपर्ने र अनिवार्य प्यान नम्बर लिएको हुनुपर्ने निर्देशनमा उल्लेख छ । मासिक रुपमा किस्तावन्दीमा भुक्तानी गर्नुपर्ने यस्तो कर्जाको अधितम अवधि ५ वर्षभन्दा बढी हुन नहुने उल्लेख छ ।
यसैगरी नेपाल आयल निगमलाई ग्यास तथा पेट्रोलियम पदार्थ खरिद गर्न, नेपाल खाद्य संस्थानलाई खाद्यान्न खरिद गर्न र कृषि सामाग्री कम्पनीलाई रासायनीक मल खरिद गर्नका लागि वाणिज्य बैंकहरुले जमानीमा दिने कर्जामा समेत थप जोखिम व्यवस्था गर्नु नपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
तर व्यक्तिगत जमानी कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत सिमा तोकिएको छ । राष्ट्र बैंक यो निर्देशन पश्चात बैंक तथा वित्तिय संस्थाहरुको नाफा बढ्ने भने कर्जा प्रवाहमा समेत बढ्नेछ ।
प्रतिक्रिया