काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ भित्रको विवाद छताछुल्ल भएको छ । महासंघको चौथो कार्यसमितिको बैठक शुक्रवार धुलिखेलमा भएको थियो । बैठकमा महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे अवैधानिक भएको भन्दै वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका सहित दुइदर्जन कार्यसमितिका सदस्यहरुले बैठक बहिस्कार गरे ।
अध्यक्ष पाण्डेले भ्रष्टाचार गरेको प्रमाणित भएको र सो प्रमाणपछि उनी स्वतः अवैधानिक भएकोले उनको अध्यक्षतामा बैठक नवसेको असन्तुष्ट पक्षले बताएको छ । पाण्डेले ३० वर्षअघि काठमाडौं उपत्यका खानेपानी कार्यालयमा हुदा भ्रष्टाचार गरेको जिल्ला अदालतले ठहर गरेको थियो साथै पुरा सजाय भुक्तान नगरेकाले पक्राउ गर्न अदालतले आदेशसमेत दिएको थियो । सो आदेश विरुद्ध पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन ।
तत्कालिन राजाले कैद मिनाहा गरेको भन्दै सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश समेत जारी गरिसकेको छ । महासंघको विधान अनुसार भ्रष्टाचार प्रमाण्ति भएको व्यक्ति अध्यक्ष हुन नपाउने असन्तुष्ट पक्षले जिकिर गरेका छन । यसैगरी महासंघका निवर्तमान अध्यक्ष सुरज बैद्यले काठमाडौमा पत्रकार सम्मेलन गरी अध्यक्ष पाण्डेले राजीनामा दिनु उपयुक्त रहेको सुझाव दिएका छन् । उनले पाण्डेले राजीनामा दिएर महासंघको प्रतिष्ठा जोगाउनुपर्ने बताएका हुन् ।
प्रतिक्रिया