काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अर्थशास्त्री डा. चिरञ्जीवी नेपालले पुँजी बजारबाट लगानीको सुरुआत गर्न युवाहरुलाई सल्लाह दिएका छन् । विश्वमा अर्बपतिको सूचीमा परेका अर्वपतिहरु पुँजी बजारबाटै सम्पन्न बनेको उदाहरण दिँदै उनले अध्ययन गरी पुँजी बजारमा लगानी गर्न आग्रह गरे ।
नेपाल धितोपत्र बोर्ड, रोट¥याक्ट क्लब अफ राजधानी र रोट¥याक्ट क्लब अफ काठमाडौं मेट्रोको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा गरिएको पुँजी बजार सम्बन्धी प्रशिक्षणमा नेपालले राज्य कमजोर हुँदा कम्पनीहरुले नाजायज फाइदा गरिरहेको जिकिर गर्दै उनले प्रविधिको प्रयोग गरी यस क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले सूचीकृत कम्पनीहरुले आफूहरुको निर्देशन नमानेको बताए । उनले बजार स्वतःस्फूर्त रुपमा चल्ने भएपनि बजारमा सिमित व्यक्तिको चलखेल हुने गरेको दावी गरे ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले बुझेर पुँजी बजारमा लगानी गर्न आग्रह गरे । रोटरी क्लब अफ राजधानीका चार्टर प्रेसिडेन्ट राजेन्द्रबहादुर श्रेष्ठले पुँजी बजारमा युवा वर्गलाई आकर्षित गर्नुपर्ने बताए ।
प्रशिक्षणमा ५० बढी युवाहरुको सहभागिता रहेको थियो । बोर्डका अधिकृत नारायणप्रसाद शर्माले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया