काठमाडौं । गत साता ३०.९१ अङ्कले घटेर अन्तिम दिन ९२१.६९ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता पहिलो दिनको तुलनामा ३५.०९ अङ्कले सुधार आएर अन्तिम दिन ९१०.६५ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार गर्ने कम्पनी तथा सेयर सङ्ख्या घटे पनि कारोबार रकममा भने यो साता वृद्धि भएको छ ।
यस साता स्टक एक्सचेन्जमा १६७ कम्पनीको १३ हजार ६०७ कारोबारबाट एक अर्ब ८० करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरका ४५ लाख ३२ हजार ७४० कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १६१ कम्पनीको १२ हजार ४०२ कारोबारबाट रु एक अर्ब ६६ करोड २५ लाख ६० हजारबराबरका ३७ लाख ७८ हजार २० कित्ता सेयर खरिद बिक्री भएको थियो । कारोबार रकम गत साताको तुलनामा ८.३७ प्रतिशत बढी हो । यसैगरी समूहगत परिसूचकहरूको उतारचढावमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत्, बिमा र अन्य समूहमा वृद्धि भएको छ भने उत्पादनमूलक तथा व्यापार समूहको नेप्सेमा भने गिरावट आएको छ । यस साता कारोबार रकमको आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा किस्ट बैंक (संस्थापक) अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ । यस साता स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता नेप्सेमा एकता विकास बैंकको २० लाख साधारण सेयर र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको १० करोड सूचीकृत भएका छन् ।
प्रतिक्रिया