पूर्वदेखि वर्तमानसम्मका संचालकले पेश्की तिरेनन्
काठमाडौ । देशभरका सहकारीहरुको केन्द्रीय छाता संगठन राष्ट्रिय सहकारी संघमा लाखौं रुपैयाँ अनियमितता भएको पाइएको छ । संघको संचालक समितिमा रहेर काम गर्दा विभिन्न व्यक्तिले लाखौं रुपैयाँ लिएर तिर्न अटेर गरेका छन् । संघका २१ औं वार्षिक प्रतिवेदनमा पूर्वदेखि वर्तमान संचालकहरुले पेश्की नतिरेको उल्लेख गरीएको छ ।
राजनीतिक प्रभाव देखाएर संघको नेतृवमा पुगेका संचालकहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिन छोडेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन् । संघबाट विभिन्न काम लिनुका साथै काम गर्छु भनेर पेश्की लिए तिर्न अटेर गर्दै आएका छन् । संघको वर्तमान नेतृत्वले पेश्की उठाउन लागेको छैन ।
संघबाट पेश्की लिएर नतिर्नेमा अग्रपङ्तीमा पूर्व संचालक कुलचन्द्र अधिकारी रहेका छन् । उनले राष्ट्रिय सहकारी संघले ठेक्का लिएको पुलीस क्लव पुन आफुले ठेक्का लिएर संचालन गरेका थिए । उक्त व्यवसायबाट करोडौं रुपैयाँ कमाएका अधिकारीले संघलाई साढे ५ लाख रुपैयाँ तिर्न बाकी रहेको छ । दिपक बास्कोटा अध्यक्ष हुदा संचालक रहेका अधिकारीले पैसा नतिरेछि तत्कालिन साधारणसभाले उनलाई संचालकबाट निलम्बन गर्ने र बैठकमा भाग लिन नपाउने प्रस्ताव पारित गरेको थियो ।
त्यसपछि संघको बैठकमा जान छाडे्का उनले संघलाई तिर्नुपर्ने दायित्व भने चुक्ता गरेनन् । एमालेमा बलियो राजनीतिक प्रभाव भएकाले उनलाई संघले कारवाही प्रक्रिया अघि बढाउन नसकेको संघ निकट स्रोतले जानकारी दियो । राष्ट्रिय संघको कालोसुचीमा परेका उनी राजनीतिक प्रभाव देखाउँदै सहकारी बैंकको लेखा समिति संयोजक रहेका छन् । हालै भएको बैंकको चुनावबाट उनी पुनः लेखा संयोजक पदमा निर्वाचित भए ।
यसैगरी उपभोक्ता सहकारी केन्द्रीय संघका पूर्व अध्यक्ष खड्ग बहादुर श्रेष्ठले पनि संघलाई करिब चार लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । बैंदेशिक रोजगार व्यवसायी समेत रहेका श्रेष्ठले उपभोक्ता सम्बन्धी काम गर्न भनि लिएको रकम तिरेका छैनन् । उपभोक्ता संघका एक संचालकका अनुसार उनले विभिन्न ठाउँबाट उधारोमा सामान लिएर समेत नतिरको पाइएको छ । सघंको पूर्व उपाध्यक्ष राजकृष्ण अमात्यले पनि संघलाई करिब ३ लाख रुपैयाँ तिर्न बाँकी रहेको राष्ट्रिय सहकारी संघको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेकपा माओवादीको कोटामा संचालक बनेका रविन्द्र केसीले पनि संघबाट १८ हजार रुपैयाँ पेश्की लिएर तिरेका छैनन् । विदेश भ्रमणका लागि भन्दै पेश्की लिएका उनले मन्त्रालयबाट पैसा आएपछि मिलाउछु भन्दै आलटाल गरेको समाचार स्रोतले जानकारी दियो ।
जिल्ला बचत संघ धनुषाका अध्यक्ष र नेपाल सहकारी पार्टीका महासचिव समेत रहेका धुव्र नारायण यादवले पनि राष्ट्रि संघबाट १८ हजार रुपैयाँ लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी केदार मानन्धर अध्यक्ष रहेको सितापाईला बहुउद्देश्यीय सहकारीले पनि राष्ट्रिय सहकारी संघको ६० हजार ५ सय रुपैयाँ तिर्न बाकी रहेको छ ।
सितापाईलाई उपत्यकाकै उत्कृष्ट सहकारी मानिन्छ । राष्ट्रिय सहकारी संघका एक संचालक भन्छन्, राजनीतिक आडमा अटेर गर्ने प्रवृत्तीका कारण संघको पैसा नउठेको बताउँछन् । ‘सबै पैसा तिर्न सक्ने उच्च हैसियतका छन्’ उनले भने, ‘संघको नेतृत्व सशक्त नहुँदा पैसा उठाउन नसकिएको हो ।’ छानविनकर्ताकै पेश्की !
संघको अघिल्लो साधारणसभाले पेश्की छानविन गरी उठाउन भन्दै वर्तमान संचालक रविन्द्र केसीलाई जिम्मेवारी दिएको थियो । उनले पेश्की उठाउन त सकेनन् नै आफैले पनि संघबाट रकम लिएर तिरेका छैनन् । उनले पेश्की उठाउन खासै पहल नगरेको संघका एक संचालकले टिप्पणी गरे ।
संघका प्रत्येक साधारणसभामा पेश्कीबारे सदस्यले कुरा उठाएपनि संघले त्यसलाई फस्यौट गर्नेबारे कुनै पहल गरेको छैन । हालै सम्पन्न २१ औं साधारणसभामा पनि सदस्यहरुले संघको रकम खानेलाई तुरुन्तै कारवाही अगाडी बढाउनुपर्ने माँग गरेका थिए । संघका अध्यक्ष केशव प्रसाद बडालले छिटो भन्दा छिटो पेश्की फस्यौट गर्नका लागि प्रतिवद्धता व्यक्त गरेपनि हालसम्म कुनै कदम चालेका छन् ।
संघहरुमा राजनीतिकरणसँगै स्रोत साधानको दुरुपयोग हुने क्रम बढेको एक सहकारीकर्मीले बताए । सहकारीको नाममा विभिन्न ठाउबाट सहुलियत लिने र त्यसलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ती बढ्दै गएको उनले टिप्पणी गरे ।
संघसँग पेश्की लिएर नतिर्नेहरु
कुलचन्द्र अधिकारी ५,४९,७३०
खड्गबहादुर श्रेष्ठ ३,९८,०८१
रामकृष्ण अमात्य २,९०,६००
भाइचा महर्जन २,३०,०००
बाबुराजा डंगोल १,६०,२५०
धर्मरत्न शाक्य १,५५,०००
रामकृष्ण महर्जन १,३०,०००
राजेन्द्र घिमिरे ९०,४२०
जिल्ला सहकारी संघ,नुवाकोट ७३,८६२
सितापाइला बहुद्देश्यीय सहकारी ६०,५७३
एनसिएफ इम्प्लाइमेन्ट ५६,७५०
गणेश सापकोटा ४२,७५०
बाबुकाजी महर्जन २५,०००
जिल्ला सहकारी संघ,काठमाडौँ २२,९५०
रविन्द्र केसी १८,०००
ध्रुवनारायण यादव १८,०००
वातावरण बहुउद्देह्यी सहकारी ललितपुर १४९५०
सहदेव घिमिरे १०,०००
जिल्ला सहकारी संघ, गुल्मी ८,१९१
सहकारी सन्देश ७,८९५
कुल २३,६३,००२
प्रतिक्रिया