काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा घोषणा भएको एक अर्ब डलर बराबरको सहयोगलाई छिटो कार्यान्वयनमा ल्याउन अर्थमन्त्री डा. रामशरण महतले निर्देशन दिएका छन् ।
अर्थमन्त्री डा महतले सो सहयोगलाई उपयोग गर्नका लागि अर्थमन्त्रालयमा सोमबार बिभिन्न मन्त्रालयका सचिव तथा अन्तर्गतका महानिर्देशकहरुलाई बोलाएर छलफल गरे । छलफल पछि भन्बी महतले भने— भारतले यति ठूलो उदारताका साथ सहयोग गरेको छ, यसलाई सदुपयोग गर्नका लागि तत्काल सीमित तथा ठूला आयोजनाहरुको सूची प्रस्तुत गर्नुहोस् । उनले जलबिद्युत, सडक र सिंचाईसँग सम्वन्धित आयोजनाको संभाब्यता अध्ययन गर्न पनि सम्वद्ध मन्त्रालयहरुलाई अह्राए ।
घोषित उक्त सहयोगको उपयोग गर्नका लागि दुई मुलुकबीच सम्झौता हुनुपर्छ, यसका लागि भारतले सम्झौताको मस्यौदा पनि पठाइसकेको छ ,उनले भने —यो अहिले कानून मन्त्रालयमा परामर्शका लागि गएको छ ।
आफूले नेपाललाई सहयोग गर्नका लागि गरेको घोषणालाई छिटो कार्यान्वयनमा ल्याउनका लागि भारतका प्रधानमन्त्रीले आफै सक्रियता देखाएका कारण छिटो सम्झौता हुने वातावरण बनिरहेको पनि मन्त्री डा. महतले जानकारी दिए ।
प्रतिक्रिया