वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निक्षेप तथा कर्जा सुरक्षण निगमको बैंकहरुमा ८० करोड निक्षेप, थप १९ करोडका लागि प्रस्ताव माग्यो

अर्थटुडे
२०७१ आश्विन ३, शुक्रबार

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण निगमले बैंक तथा वित्तीय संस्थामा झण्डै ८० करोड रुपैयाँ संस्थागत निक्षेप राखेको छ । निगमले चालू आर्थिक वर्ष सुरु भएपछि चौंथो पटकसम्ममा उक्त परिमाणमा निक्षेप रकम राखेको छ । राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेपको अनुपात ६० प्रतिशतभन्दा बढी हुन नहुने भने पनि संस्थागत निक्षेप राख्ने क्रम भने बढेको छ । निगमले पछिल्लो पटक बुधबार १९ करोड रुपैयाँ बराबरको निक्षेपको लागि प्रस्ताव माग गरेको छ ।

nepali note

निगमले एक वर्षीय मुद्दतीको रुपमा रकम राख्नको लागि वाणिज्य बैंकहरुसँग १७ करोड १० लाख, विकास बैंकहरुसँग ९५ लाख र फाइनान्स कम्पनीहरुसँग पनि ९५ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव माग गरेको हो ।

निक्षेप रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको २० प्रतिशतसम्म हुनुपर्ने, रियलस्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने लगायतका प्रावधान रहेको जनाएको छ ।

निगमका अनुसार समस्याग्रस्त घोषणा भएका बैंक तथा वित्तीय संस्थाहरुले भने निक्षेप लगानीको लागि प्रस्ताव पेस गर्नसक्ने छैनन् । लगानीको लागि एक साताभित्रमा संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याजसहित प्रस्ताव पेस गर्नुपर्ने निगमले जनाएको छ ।

यसअघि निगमले भदौको पहिलो साता प्रस्ताव माग गरी वाणिज्य बैंकहरुमा २२ करोड ५० लाख, विकास बैंकहरुमा एक करोड ५० लाख र फाइनान्स कम्पनीहरुमा पनि एक करोड ५० लाख रुपैयाँ एक वर्षीय मुद्दती निक्षेपको रुपमा राखेको थियो । साउनको दोस्रो साता पनि निगमले २० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप बैंकहरुमा राखेको थियो । निगमले उक्त समय पनि एक वर्षीय मुद्दती निक्षेपको रुपमा वाणिज्य बैंकहरुमा १८ करोड, विकास बैंकहरुमा एक करोड र फाइनान्स कम्पनीहरुमा एक करोड रुपैयाँ राखेको हो । निगमले २०७१ असार मसान्तमा पनि बैंकहरुमा झण्डै १६ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राखेको थियो ।

बैंक तथा वित्तीय क्षेत्रका ग्राहकको दुई लाख रुपैयाँसम्मको निक्षेप बीमाका साथै विभिन्न कर्जाको पनि सुरक्षण गर्दै आएको निगमको पुँजी १ अर्व ५४ करोड रुपैयाँ रहेको छ । जसमा सरकारको ८८.९३ प्रतिशत, राष्ट्र बैंकको १० प्रतिशत, नेपाल बैंकको ०.७१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.३६ प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ