काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नोटमा केरमेट गर्नेलाई जरिवाना गर्ने भएको छ । आइतबार बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिदै उसले केरमेट गर्नेलाई जरिवाना गर्ने र नोटको विटोमा स्टीज लगाउने बैंक कर्मचारीलाई सेवाबाट निलम्वनसम्म गर्न भनेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत जारी गरेको सफा नोट नीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो । राष्ट्र बैंकले २०६७ र ६८ को मौद्रिक नीतिमा नै सफा नोटको नीति ल्याएको भए तापनि हालसम्म त्यसलाई सर्वसाधारण एवं बैंक तथा वित्तिय संस्थाले पालना गरेका थिएनन् ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सफा नोट नराख्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम कारबाही गरिने जानकारी दिए । राष्ट्र बैंकले केरमेट गर्नेलाई आर्थिक जरिवाना गर्ने भनिएपनि कतिसम्मको जरिवाना गर्ने भन्नेबारेमा स्पष्ट छैन । सफा नोट नितिको कार्यान्वयन गरिएको नगरिएको बारे राष्ट्रबैंकले अनुगमन गर्ने भएको छ ।
प्रतिक्रिया