काठमाडौं । विश्व बैंकको बार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री डा.रामशरण महतसँग अमेरिकी विदेश सहायकमन्त्री निशा विश्वालले वासिंगटनस्थित बैंकको कार्यालयमा भेटी द्विपक्षीय हितका विषयमा छलफल गरेकी छिन् । सो अवसरमा अर्थमन्त्री डा.महतले अमेरिकाले आगामी दिनमा नेपाललाई अझ बढी सहयोग गर्न आग्रह गर्दै भने, नेपालको जलबिद्युतका क्षेत्रमा विदेशी लगानीको संभावना रहेको छ । उनले हालै भारतसँग भएको बिद्युत व्यापार सम्झौताले नेपालमा बिद्युत उत्पादन गर्न सकेमा छिमेकी भारतको ठूलो बजार प्राप्त गर्न सकिने जानकारी दिए ।
अर्थमन्त्री डा.महतले नेपालको अन्य मुलुकसँगको व्यापारघाटा धेरै भएको उल्लेख गर्दै यसलाई घटाउनका लागि अमेरिकाले दिदै आएको जीएसपी सुविधा जारी राख्न अनुरोध गरे । साथै उनले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी लाभ लिन पनि अनुरोध गरे ।
सो अवसरमा अर्थमन्त्री डा.महतले लगानीकर्ताहरुलाई अनुकूल वातावरण निर्माण गरिदिनका लागि आफूले बजेटमार्फत नै नयाँ आर्थिक सुधार कार्यक्रमको घोषणा गरेको र दर्जनौ कानूनहरुलाई लगानीमैत्री बनाउने व्यापक तयारी भैरहेको जनाए । उनले संबिधान जारी गर्ने अन्तिम तयारी भैरहेको र त्यसपछि मुलुक आर्थिक एजेण्डालाई कार्यान्वयन गर्नेमा केन्द्रित हुने जानकारी दिए ।
सो अवसरमा विदेश सहायकमन्त्री विश्वालले अमेरिकाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा निरन्तर सघाउने आश्वासन दिए । साथै उनले जीएसपी सुविधालाई जारी राख्नेबारे कंग्रेसमा छलफल भैरहेको जानकारी दिए ।
नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरु इच्छुक रहेको जानकारी दिदै उनले नेपाललाई दिदै आएको सहयोग बढाउने आश्वासन पनि दिइन् । त्यसैगरी अर्थमन्त्री डा.महतसँग अमेरिकी अर्थसहायकमन्त्री मारिसा लेगोले पनि विश्व बैंककै कार्यालयमा आएर भेट गरेकी थिइन् ।
प्रतिक्रिया