काठमाडौं । मलेसियाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव राखेको छ । शुक्रबार मलेसियाका पूर्वमन्त्री दातो सेरी उतामा सामी भेल्लु सहित सरकारी अधिकारीहरु र मलेसियाका लगानीकर्ताहरुले अर्थमन्त्री डा.रामशरण महतलाई भेटी सो प्रस्ताव राखेका हुन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका साथै उनीहरुले छेउमा आधुनिक शहरको विकास पनि गर्ने सोच राखेको बताएका छन । सो अवसरमा अर्थमन्त्री डा.महतले नेपाल पर्यटनका दृष्टिले अत्यन्तै आकर्षक र सुन्दर देश भएको बताउदै विश्वसँग एयर कनेक्टीभिटी बढाएर पर्यटक आकर्षित गर्न चाहेको बताए ।
पर्यटन मात्र होइन, उर्जाको क्षेत्रमा पनि नेपालको संभावना अतुलनीय रहेको चर्चा गर्दै उनले पर्यटनको विकाससँगै कृषिको पनि विकास हुने बताए । डा. महतले उनीहरुसँगको भेटमा भने,जलबिद्युतमा नेपालले संभावनाको १ प्रतिशत पनि उपयोग गर्न सकेको छैन। ताल,सांँस्कृतिक तथा भौगोलिक विविधता भएकोले पर्यटनको ठूलो संभावना रहेको छ ।
मलेसियाका लगानीकर्ताका लागि काम गर्नका लागि तुरुन्त प्रस्ताव पेस गर्न अनुरोध गर्दै अर्थमन्त्री डा. महतले सरकारले आवश्यक निर्णय तत्काल गर्ने आश्वासन पनि दिए ।
उनीहरुले यी तीनवटै काम निर्माण, सञ्चालन र हस्तान्तरण बूट नीति अन्तर्गत गर्न चाहेको जानकारी दिएका थिए । पूर्वमन्त्री भेल्लु भारत तथा दक्षिण एसियाका लागि मलेसियाका विशेषदूत पनि हुन । उनले सम्पूर्ण निर्माणका लागि साधन र स्रोत मलेसियाले नै ल्याउने जानकारी दिदै नेपालले जग्गा अधिग्रहण मात्र गरिदिनुपर्ने बताए ।
उनले यस्तो काम मलेसियाले आफ्नो मुलुकका अतिरिक्त अन्य मुलुकमा पनि गरिरहेको जानकारी पनि दिएका थिए । सो अवसरमा यी परियोजनाहरु निर्माणका लागि उनीहरुले तत्काल प्रस्ताव प्रस्तुत गरिहाल्ने जानकारी दिएका थिए ।
प्रतिक्रिया