काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बाणिज्य बैंकको बजार हिस्सा क्रमश घट्दै गएको छ । लगानीकर्ताहरु बैंकभन्दा बिमा, हाइड्रोपावरलगायतका सेयरमा आकर्षित भएका छन् । बैंक भन्दा अन्य कम्पनीले धेरै प्रतिफल दिन थालेपछि लगानीकर्ताहरु विस्तारै बाणिज्य बैंक छोडेर अन्य कम्पनीतिर सर्न थालेका छन् । जसले गर्दा गत एक वर्षमा नेप्सेमा बैंकको सेयर कारोबार घटेको छ भने बिमा र जलविद्युतको सेयर कारोबार बढेको छ ।
नेप्सेका अनुुसार गत आवमा वाणिज्य बैंकको सेयर कारोबार करिब १७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कुल कारोबारमध्ये बाणिज्य बैंकको सेयर हिस्सा ६४.८५ प्रतिशत रहेकोमा गत आवमा यो घटेर ४७.९० प्रतिशतमा झरेको छ ।
अर्कोतर्फ बिमाको बजार हिस्सा भने दोब्बर भएको छ । अघिल्लो आवको कुल कारोबार रकममा ७.५ प्रतिशत हिस्सा कायम गरेका बिमा कम्पनीको गत आवमा दोब्बरले बढेर १७.२० प्रतिशत पुगेको छ । त्यसैगरी अघिल्लो आव १०.२८ प्रतिशत हिस्सा रहेको जलविद्युत समूहको गत वर्ष १२.७४ प्रतिशत पुगेको छ । विकास बैंक, होटल तथा वित्त समूहको हिस्सा पनि बढेको छ ।
बिमा तथा जलविद्युत् समूहको सेयर मूल्यमा उच्च उतारचढाव आएपछि बैंकहरुको कारोबार रकममा कमी आएको हो । लगानीकर्ताले लगानी विविधीकरण गर्दा बैंकिङको लगानी घटाई बिमा तथा जलविद्युतमा बढाएका छन् । लगानी विविधिकरणले जोखिम कम हुने भएकाले लगानी विविधिकरण गरेको लगानीकर्ताहरु बताउछन् ।
नेप्सेको कारोबार रकम पनि ३ गुणाले बढेको छ । ०६९\७० मा २१ अर्ब ५५ करोड ३१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यो रकम ०७०\७१ मा बढेर ७७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया