काठमाडौं । खारे खोला जलविद्युत आयोजनामा १० वैंकले सह–वित्तियकरणमा २ अर्व ९४ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । माछापुच्छ्रे बैंकको नेतृत्व र नविल तथा एभरेष्ट वैंकको सह–नेतृत्वमा ग्लोवल आईएमई, नेपाल एसबीआई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी, बैंक अफ काठमाण्डु, सिद्धार्थ र नेपाल बङ्गलादेश बैंकले लगानी गर्ने भएका छन् ।
२४.१ मेगावाट क्षमताको आयोजनामा लगानीका लागि प्रवद्र्वक कम्पनी कन्सोर्सियम पावर डेभलपर्स ( सिपिडि) सँग मंगलबार सम्झौता भयो । सम्झौतामा सिपिडिका अध्यक्ष ई. लाल कृष्ण केसी र माछापुच्छ्रे वैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरे ।
आयोजनाको लगानी संरचना अनुसार कुल लागत ३ अर्व ९२ करोड मध्ये ७५ प्रतिशत वैंकको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । आयोजनाको स्वलगानी सिपिडिले व्यवस्था गर्ने छ ।
आयोजना, दोलखा जिल्ला मार्वू तथा चंखु गाविसमा अवस्थित छ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युत उत्पादन हुनेछ । उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार सिंगटीमा अवस्थित सव स्टेशनसम्म आयोजनाले ९ कि.मी. प्रसारण लाईन निर्माण गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ । सिंगटीमा निर्माण हुने सब स्टेसन तथा सिंगटी देखी लामोसाँघुसम्मको मुख्य प्रसारण लाईन समयमै निर्माण हुने बारे विद्युत प्राधिकरण र सरकारले प्रतिवद्धता गरेको कम्पनीका अध्यक्ष केसीले जानकारी दिए ।
प्रतिक्रिया