काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले बोर्डमा भएको करोडौं अनियमियततामा निरौलाको संलग्नता देखिएको ठहर गर्दै निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले निरौलाको अनियमितताबारे अनुसन्धान गरेर आवश्यक कारवाही गर्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई समेत निर्देशन दिएको छ ।
समितिको निर्णयमा भनिएको छ- ‘सार्वजनिक खरिद कानुनको पालना नगरी खरिद गर्ने, प्रमाण र औचित्य बिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी भुक्तानी दिने, लेखाका विवरणहरु सही र यथार्थ नराख्ने लगायतका क्रियकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता, मितव्ययिता, जवाफदेहिता, औचित्यता र आर्थिक अनुशासन जस्ता तत्वहरुको बेवास्ता गर्दै बोर्डको करोडौँ रकम अनियमित गर्ने कार्यमा बोर्डका बहालवाला कार्यकारी प्रमुख सुवास निरौला प्रत्यक्ष संलग्न देखिएकोले पदीय जिम्मेवारबाट तत्काल निलम्बन गर्न संस्कृति तथा पर्यटन उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ।’
बोर्डको अनियमितताबारे अध्ययन गर्न गठित छानविन गर्न गठित समितिका अनुसार बोर्डमा ८० करोड रुपैयाँभन्दा बढी कारोबार शंकास्पद देखिएको छ । तत्कालिन पर्यटन सचिव तथा बोर्डका कामु अध्यक्ष सुशील घिमिरेलाई प्रभावमा पारि निरौला, अन्य बोर्ड सदस्य र केही कर्मचारीले कानुनी प्रक्रिया मिलाएर ठुलो रकम हिनामिना गरेको प्रतिवेदनमा औल्याएको छ ।
समितिको प्रतिवेदनका आधारमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारीस गरेको थियो । अख्तियारले कारवाही सुरु नगर्दै लेखा समितिले प्रतिवेदनको अध्ययन गरेको हो ।
प्रतिक्रिया