काठमाडौं । अमेरिकी डलरको अधिमूल्यनसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा कमी आएसँगै भाउ घट्ने क्रम शुरु भएपछि नेपाली बजारमा पनि सुनको भाउ ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपालमा सुनको भाउ एक महिनायताकै सस्तो भई प्रतितोला ५० हजार रुपैयाँ हाराहारीमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुन १ हजार ५ सय रुपैयाँ सस्तो भएको छ ।
साताको पहिलो दिन आईतबार प्रतितोला ५२ हजार रुपैयाँ कायम रहेको सुन क्रमश घट्दै शुक्रबार ५० हजार ५ सयमा झरेको छ । शुक्रबार एकैदिन सुन ७ सय रुपैयाँ सस्तिएको थियो । यसैगरी सुनको भाउलाई पछ्याउदै चाँदी पनि घट्न थालेको छ ।
आईतबार प्रतितोला ७ सय ३५ रुपैयाँ कायम चाँदी साताभरमा ४० रुपैयाँ घटेर शुक्रबार ६ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ १ महिनायताकै न्यून विन्दुमा झरेको छ ।
अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई पूर्ण रुपमा कटौती गरेपछि अमेरिकी अर्थतन्त्र सुढृद भएको यकिन देखिएको छ । डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएकाले लगानीकर्ताहरु सुन छाडेर डलरतर्फ मोडिएकाले सुनको भागमा कमी आई भाउ घटेको अन्तर्राष्ट्रिय संचारमाध्यमले विश्लेषण गरेका छन् ।
सुनको मुख्य माग रहने एशियाका प्रमुख देशहरुमा चाँडपर्व र विवाहको सिजनको मागको बावजुद पनि डलर मजवुत हुदा भाउ ओरालो लागेको र आगामी केही साता भाउ क्रमशः घट्नेक्रम जारी रहने विश्लेषण गरिएको छ ।
यसैगरी चाँदीको भाउमा पनि अन्तर्राष्ट्रिय बजारमा तिव्र गिरावट आइरहेको छ । चाँदीको दरभाउ पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउदै नेपाली बजारमा पनि विगत ४ बर्ष यता कै न्यून बिन्दुमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया