काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण निगमले आगामी आर्थिक वर्षदेखि निक्षेप सुरक्षण सिमा ५ लाख पुर्याउने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत खाताको २ लाख रुपैया सुरक्षण गराउदै आएका छन् ।
निक्षेप सुरक्षण बढाउनकै लागि निगमलाई बलियो बनाउनका लागि छुट्टै ऐन समेत जारी हुने भएको छ । हाल अर्थमन्त्रालयमा पुगेर सरोकारवालाबिच छलफल भइरहेको ऐनमा निगमलाई बलियो बनाउन चुक्ता पुँजी ५ अर्व पुर्याउन प्रस्ताव गरिएको छ ।
हाल निगमको चुक्ता पुँजी १ अर्व ५४ करोड रुपैयाँमात्र छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक लगायतले सरकारलाई निगमको चुक्ता पुँजी वृद्धि गर्न सुझाव दिएका थिए ।
बैंक तथा वित्तीय संस्थामा भएका अनियमितता सार्वजनिक भएर निक्षेप फिर्ता लिनेको ताँती लागेपछि निगमले ४ वर्षअघि निक्षेप सुरक्षण गर्ने काम थालेको थियो । त्यसयता बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गरिएको छ । अधिकांश वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसहित दुई लघु वित्त विकास बैंकमा सर्वसाधारणको नाममा रहेको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षित बनाइएको छ ।
हालसम्म सर्वसाधारणको २ अर्व रुपैयाँ निक्षेप सुरक्षण भएको निगमले जनाएको छ ।
सुरक्षण भएका बैंक वित्तीय संस्था खारेजीमा गए लिक्विडेटरको सिफारिसअनुसार निगमले रकम फिर्ता गर्नेछ ।
प्रतिक्रिया