काठमाडौं । राजनीतिक अस्थिरताका कारण लगानीकर्ता त्रसित भएपछि सेयर बजार घट्ने क्रम मंगलबार पनि जारी रह्यो । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साढे ६ अंकले घटेर ८९७.४६ झरेको छ । राजनीतिक दलहरुविच संविधानका विवादीत विषयमा सहमति नभएपछि आईतबारदेखि नै घट्न सुरु गरेको बजार आईतबार ९ अंक र सोमबार १७ अंकले घटेको थियो । राजनीतिक अन्यौलले लगानीकर्ता डराएपछि नेप्से इन्डेक्स फेरी ९ सय अंक तल झरेको छ ।
कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेको नेप्से २ बजे ८९० मा झरेको थियो । त्यसपछि भने सामान्य उकालो लागेर बजार बन्द भएको हो ।
मंगलबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार परिसुचकमा पनि असर देखिएको हो । बजारमा बाहुल्यता रहेका बाणिज्य बैंक, इस्योरेन्स, विकास बैंकलगायत समूह ओरालो लागेपछि नेप्से घटेको हो ।
नेप्से इन्डेक्ससँगै समूहगत परिसुचकहरुमा पनि उत्पादनमुलक र अन्य बाहेकका सबै समूह ओरालो लागेको छ । सबैभन्दा बढी इस्योरेन्स समूह ६७ अंकले घटेको छ ।
मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार १८ करोड ६० लाख बराबरको सेयर किनबेच भएकोमा मंगलबार बढेर २० करोड ६४ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया