काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको शोधनान्तर स्थिति २ अर्व ९६ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५२ अर्ब ७४ करोडले बचतमा रहेको थियो । तर चालु आर्थिक वर्षको भदौ महिनामा भने शोधनान्तर स्थिति १० अर्व रुपैयाँले घाटामा थियो । भित्रने भन्दा बाहिरिने रकममा एक्कासी बृद्धि भएपछि भदौ महिनामा शोधनान्तर स्थिति घाटामा रहेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार व्यापार घाटा २९ प्रतिशतले बढेर १ खर्व ६३ अर्व ६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा १३.४ प्रतिशतले मात्र बढेको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा पनि कमी आएको छ । यो अवधिमा गत वर्षको तुलनामा ०.६ प्रतिशतले कमी आई जम्मा १ खर्व ३४ अर्व रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्ष अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ३८.२ प्रतिशतले बृद्धि भएको थियो ।
विप्रेषण आप्रवाह मासिक रुपमा हेर्ने हो भने चालूआर्थिक वर्षको भदौ महिनाको तुलनामा असोज महिनामा १७.६ प्रतिशतले बढेको छ । असोज महिनामा नेपालीहरुको महान्चाड बडादशै पर्ने भएकोले पनि रेमिट्यान्समा बृद्धि भएको हो तर गत वर्षको असोज महिनाको जस्तो रेम्यिान्स भने आएको छैन ।
प्रतिक्रिया