काठमाडौं । सेयर बजारका लगानीकर्ताको लागि खुशीको खबर छ । बजारमा अर्को म्युचुअल फण्ड (सामूहिक लगानी कोष) थपिने भएको छ । नेपाल धितोपत्र बोर्डले एनआईबीएल म्युचुअल फन्डको ‘एनआईबीएल लगानी वृद्धि योजना १’ निष्कासन अनुमति दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएलले ल्याउन लागेको फण्ड ८० करोड रुपैयाँ बराबरको छ । उक्त फण्डका लागि धेरै आवेदन परेमा १ अर्व रुपैयाँसम्म जारी गर्न सक्नेछ ।
एनआईबीएलले केही समयअघि योजनाको विवरण पत्र स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो । बोर्डबाट स्विकृती पाएपछि कम्पनीले मंसिर महिनाभित्रै फण्डको इकाई निश्कासन गर्ने जनाएको छ ।
म्युचुअल फण्डको योजनाको प्रतिएकाइको मूल्य १० रुपैयाँ छ । लगानीकर्ताले न्यूनतम सय एकाइ खरिद गर्न सक्नेछन् । यो बन्दमुखी योजनाको अवधि ७ वर्षको छ । ७ वर्षपछि लगानीकर्ताले साँवासहित सम्पूर्ण आम्दानी पनि फिर्ता पाउनेछन् । साथै, योजनाले लगानीकर्तालाई ७ वर्षको अवधिमा लाभांशसमेत वितरण गर्न सक्छ ।
योजना निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईबीएल क्यापिटल छ । एनआईबीएल क्यापिटलले योजना व्यवस्थापक र डिपोजिटरको कामसमेत गर्नेछ । इक्रा नेपालको रेटिङमा नेपाल इन्भेष्टमेन्ट बैंकले ‘ए’ ग्रेड पाएको छ भने एनआईबीएल क्यापिटलले एएमसी थ्री पाएको छ ।
जोखिम कम लिन चाहने लगानीकर्ताका लागि पनि म्युचुअल फण्डको एकाइमा लगानी उपयुक्त हुने विज्ञहरु बताउछन् ।
अहिले बजारमा सिद्वार्थ क्यापिटका २, नविल क्यापिटलको १ र एनएमबी क्यापीटलको एक गरी ४ वटा म्युचुअल फण्ड बजारमा रहेका छ । एनएमबीको म्यचुलअ फण्ड भने कारोबारका लागि स्टक एक्सचेन्जमा सुचिकृत हुन बाकी छ ।
प्रतिक्रिया