काठमाडौं । सोमबार नेप्से परिसुचक ४.८४ अंकले घटेको छ । यस दिन सम्पुर्ण समूहगत परिसुचक समेत घटेको छ । सवैभन्दा बढी विमा समूहको समूहगत परिसुचक घटेको छ । राजनीतिक प्रभावका कारण बजारमा उतार चढाव आएको सेयर बजार विश्लेषकहरुले दावी गरिरहेका बेला धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भने बजारमा उतारचढाव आउनुमा राजनीतिक कारण मात्र नरहेको दावी गर्छन् ।
उनका अनुसार बजारमा साना लगानीकर्ताको बर्चस्व रहेको र हल्लाको भरमा बजार चल्ने भएकोले पनि यस्तो उतार चढाव आएको हो । उनले आइतबार मात्र करिव ६ अंकले बढेको बजार सोमबार ४ अंकले घट्नु पनि सोही हल्लाकै कारण रहेको बताए ।
बजारमा चलखेल हुनु सामान्य रहेको भन्दै लगानीकर्ताले सोचविचार गरेर मात्र लगानी गर्नुपर्ने उनको भनाई रहेको छ । लगानीकर्ताहरुले कर्जा लिएर लगानी गरेका हुन्छन् बजार केही बढ्ने वित्तिकै लगानीकर्ताहरु घाटा हुने डरमा आफूसँग भएको सेयर बेच्ने गर्दछन् । सोही कारण पनि बजारमा उतार चढाव आएको उनको दावी रहेको छ । सोमबार २२ करोड रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।
प्रतिक्रिया