काठमाडौं । हिमालयन बैंकबाट पाँच करोड ७५ लाख रुपैयाँ रकम हिनामिना गरेर फरार रहेका अनिशभक्त सुवाल डंगोललाई प्रहरीले पक्राउ गरेको छ । डंगोलले अवैध रुपमा क्रेडिट कार्ड र डेविट कार्ड बनाई विभिन्न मितिमा बैंकबाट ५ करोड ७५ लाख ४८ हजार रुपैयाँ झिकी फरार भएका थिए । उनलाई बाँकेको कारकाँदोको एयरपोर्ट एरियामा लुकेर बसेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरी प्रहरी परिसर हनुमानढोकामा सोमबार बुझाईएको प्रहरीले जानकारी दिएको छ । उनी सन् २००४ देखि डिसेम्वर १६ २०१२ सम्ममा सो बैंकको कार्ड सेन्टरमा कार्यरत थिए । उनले आफू र आफ्नी पत्निको एटीएम कार्डबाट रकम झिकी झिकेका र रकम झिकेपछि सिस्टमबाट नै मेटिदिने गरेका थिए ।
बैंकबाट रकम ठगी भएको पत्ता पाएपछि बैंकले सार्वजनिक सूचना जारी गरी आफ्ना डेविट/क्रेडिटकार्ड प्रयोगकर्तालाई नयाँ कार्ड लिन अपिल गरेको थियो । सुवालले ठगी गरेपछि बैंकले २०१२ मे १ तारिख अघि जारी भएका एटीएम/क्रेडिटकार्ड तथा मास्टरकार्ड नयाँ लिन ग्राहकहरूलाई सूचित गराएको थियो । प्रहरीले यसअघि सुवाल पक्राउ गर्न पटक–पटक प्रयास गरे पनि उनी भारतलगायत मुलुकमा लुकीछिपी बस्दै आएका थिए ।
उनीमाथि बैंकिङ कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकको खाताबाट भारतीय गिरोहले नक्कली एटीएम बनाइ करिब २ लाख रुपैयाँ झिकेको थियो । केही दिन अघिमात्रै टर्किस नागरिक मेहमत गुलेन एटीएम ह्याक गरी नेपालबाट विदेशी बैंक प्रयोकर्ताको रकम झिकेको अभियोगमा काठमाडौंमा पक्राउ परेका थिए ।
प्रतिक्रिया