वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयरको पैसा घरजग्गामा, बढ्ला त बजार ?

अर्थटुडे
२०७१ मंसिर १९, शुक्रबार
काठमाडौं । सेयर बजार निरन्तर खस्किँदै गएपछि यसका ठूला लगानीकर्ताहरू घरजग्गातिर सरेका छन् । अस्थिर सेयर बजारबाट प्रतिफल आशा गर्न नसकिएको भन्दै उनीहरूले सेयरको धेरै हिस्सा घरजग्गामा लगानी गरिरहेका छन् । यद्यपि, उनीहरूले यसलाई लगानी विविधीकरण भन्छन् ।
साउनमा १०८३ अंकसम्म पुगेको सेयर बजार परिसूचक नेप्से (नेपाल स्टक एक्सचेन्ज) अहिले साढे ८ सय हाराहारीमा झरेको छ । लगानीकर्ता स्थिर भएर नबस्ने भएकाले सेयर बजारबाट कमाएको लगानी घरजग्गामा समेत गएको हुन सक्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्रराज सिँजापति बताउँछन् । भन्छन्, “एकतिर लगानी घट्यो भन्नुको अर्थ अर्कातिर लगानी बढ्यो भन्ने बुझ्नुपर्छ ।”
share losing
अधिकांश लगानीकर्ताले परिचय बदल्न थालेका छन् । “सेयर लगानीकर्ताबाट अब म घरजग्ग्गा व्यवसायी बनें,” भक्तपुर दधिकोटका पुरुषोत्तम सुवेदी भन्छन्, “मसँग भएको सेयरमध्ये आधा बिक्री गरेर घरजग्गामा लगाएको छु । सेयरको मात्रै भर पर्न सकिएन ।”
जानकारहरूका अनुसार सेयर लगानीको ३५ प्रतिशतसम्म रकम घरजग्गामा लगानी भएको कारोबार दैनिकमा समाचार छ । गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालू आवको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन् । पुसदेखि फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम हुने भएकाले लगानी सेयर बजारबाट बाहिरिएको ब्रोकरहरू बताउँछन् । सेयर छाडी घरजग्गातिर लाग्नेहरूमा उच्च सरकारी अधिकारी, निजी क्षेत्रका पेसाकर्मी, सेवानिवृत्तलगायत पनि छन् ।
ठूला र चलाख लगानीकर्ताहरू कम्पनीको सेयर माथि चढ्दा बिक्री गर्ने र न्यून बिन्दुमा झर्दा किनेर राम्रो प्रतिफल लिँदै अन्य क्षेत्रतिर जाने गरेका छन् । सिँजापति भन्छन्, “चलाख लगानीकर्ताहरू स्थिर भएर बस्दैनन्, छिनछिनमा मनस्थिति परिवर्तन गरिरहन्छन् ।”
बजार घट्ने क्रममै रहिरहँदा उनीहरूले थप लगानी गरेका छैनन् । केही लगानीकर्ताले चालू वर्ष बैंक-वित्तीय संस्थाले वितरण गरेको बोनस राखेर अरु सेयर बिक्री गरिसकेका छन् । “बैंक÷वित्तीय संस्थाले वितरण गरेको बोनस सेयर सूचीकृत नभइसकेकाले पनि बिक्री गर्न सकिँदैन,” नेप्सेका महाप्रबन्धक सीताराम थपलिया भन्छन्, “सेयर मूल्य बढे बोनस सेयरले पनि फाइदा पु¥याउँछ ।”
नेप्से परिसूचक निरन्तर ‘बियरिस ट्रेन्ड’मा रहँदा धेरै लगानीकर्ताले सेयर बेच्ने मनस्थिति बनाएको सेयर विश्लेषक जीवन बस्नेत बताउँछन् । “सेयर बजार साइकल सिद्धान्तमा चल्ने गर्छ,” उनी भन्छन्, “५-६ वर्षमा तलमाथि गर्ने भएकाले जसले माथि गएको बेलामा बेच्छ, उसले कमाउँछ, झरेका बेला बेच्नेले गुमाउँछ ।”
०६५ भदौमा ११७५ बिन्दु टेकेको नेप्से ०७१ साउन ५ मा १०८३ मा झरेको थियो । करिब ६ वर्षअघि उच्च बिन्दुमा पुगेको सेयर बजार पुनः त्यही बिन्दुमा पुगेर झरेको छ । “यसले पनि प्रत्येक ६ वर्षमा नेप्से बुलमा जाने प्रमाणित हुन्छ,” बस्नेतले भने ।
नेप्सेमा आएको गिरावटसँगै पुराना खेलाडी ब्रोकरको कार्यालयबाट समेत पलायन हुँदैछन् । साना लगानीकर्तामात्र साडीको मुज्जाजस्तै अनुहार पारेर बसिरहेका छन् । बजार बढ्नेमा उनीहरू अझै आशावादी छन् । संविधान समयमै निर्माण भए नेप्सेले पुरानो उचाइ छुने बुझाइमा उनीहरू छन् ।
जग्गाको मूल्य नबढेको लामो समय भएकाले अब गति लिने आशाबीच सेयर लगानीकर्ताहरू यतातिर सरेका हुन् । “सेयरमा लगानी गर्न जम्मा गरेको पैसा थियो, बजार घट्न थालेको देखेर घरजग्गामा हाल्ने निर्णय लिएँ,” कोटेश्वरकी सेयर लगानीकर्ता पवित्रा अधिकारी भन्छिन्, “लामो समयसम्म मन्दीमा रहेको घरजग्गा कारोबारमा गति आउन थालेको पनि छ ।”
घट्दो सेयर बजार र बढ्दो घरजग्गा व्यवसायले तानेको विज्ञहरू बताउँछन् । “बर्सेनि जनसंख्या बढ्ने तर जग्गा नबढ्ने भएकाले मूल्यवृद्धिमा पनि कमी आउँदैन,” धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी भन्छन्, “त्यसैले घरजग्गा सधैं लगानीको केन्द्रमा रहँदै आएको छ, कहिलेकाहीँको अपवादबाहेक ।” उनका अनुसार सेयर बजारमा अहिले पनि १५ लाख हाराहारीमा लगानीकर्ता छन् ।
नेपाल आवास तथा जग्गा विकास संघका सचिव भेषराज लोहनीका अनुसार गत वर्षभन्दा घरजग्गा कारोबार उल्लेख्य बढेको छ । “आजको भोलि प्रतिफल लिनेभन्दा पनि आवश्यकताका आधारमा खरिद–बिक्री बढेको छ,” उनी भन्छन्, “त्यसमा केही हिस्सा सेयरको पनि होला !”

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ