एनआईबीएल म्युचुअल फन्डको पहिलो योजना एनआईबीएल समृद्धि फन्ड १ आजदेखि एकाइ बिक्री खुला गर्नुभएको छ, तयारी कस्तो छ ?
धितोपत्र बोर्डबाट कात्तिक अन्तिममा अनुमति पाएका थियौं । छिटो बिक्री खुला गर्ने योजनाअनुसार काम गरेकाले आज सम्भव भएको हो । योजनाको बिक्री बन्द छिटोमा मंसिर २१ गते आइतबार हुनेछ । यसका लागि लगानीकर्ताले नजिकको संकलन केन्द्रमा गई प्रतिएकाइ १० रुपैयाँका दरले न्यूनतम १ सय एकाइदेखि अधिकतम ८० लाख एकाइसम्म माग गरी आवेदन दिन सक्नेछन् । मुलुकभरका
लगानीकर्ताले यो योजनामा सहभागिता जनाउन सकून भनेर एनआईबीएल क्यापिटलसहित नेपाल इन्भेस्टमेन्ट बैंकका सम्पूर्ण शाखामा आवेदन बुझाउन सकिने व्यवस्था गरेका छौं । संस्थागतभन्दा पनि सर्वसाधारणको सहभागिता बढी होस् भन्ने हाम्रो चाहना छ ।
८० करोड रुपैयाँबराबरको योजनाको एकाइ बिक्रीपछि संकलित रकमको परिचालनको कस्तो योजना बनाउनुभएको छ ?
हामीभन्दा अघि सञ्चालनमा आएका ३ सामूहिक लगानी कोषले ४ योजना सञ्चालन गरिसकेका छन् । सिद्धार्थ म्युचुअल फन्डका २ तथा नबिल इन्भेस्टमेन्ट र एनएमबी क्यापिटलका १\१ योजना आइसकेको छ । यसले गर्दा सामूहिक लगानी कोषको व्यवसाय प्रतिस्पर्धी पनि छ । हाम्रो पहिलो योजना ८० करोड रुपैयाँ बराबरको छ । कोषले जारी गर्ने एकाइमध्ये ५० प्रतिशत पनि बिक्री भएन भने आकार घटाएर ४० करोड बनाउनुपर्छ । माग धेरै भयो भने आधार रकमलाई २५ प्रतिशतसम्म बढाएर १ अर्ब बनाउन सकिन्छ । पहिलो योजना भएकाले निष्कासित कुल रकमको करिब १४ प्रतिशत कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंकले लगानी गर्छ । १ करोड रुपैयाँ योजना व्यवस्थापक एनआईबीएल क्यापिटलले खरिद गर्ने योजना छ । सो योजनाको कुल रकमको १५ देखि २० प्रतिशतसम्म मुद्दती निक्षेप तथा निश्चित आम्दानीका क्षेत्रमा सरकारी तथा संस्थागत ऋणपत्रमा लगानी गर्ने योजना छ । बाँकी ८० प्रतिशत पुँजी धितोपत्रको प्रथम तथा दोस्रो बजारमा अर्थात् इक्विटीमा लगानी गर्ने योजना छ ।
एनआईबीएल समृद्धि योजनाको परिपक्व हुने समय ७ वर्ष तोक्नुभएको छ, समय बढी भएन र !
हाल बजारमा सञ्चालनमा आएका सामूहिक लगानी कोषका योजना सामान्यतः ५ वर्षे छन् । तिनको तुलनामा २ वर्षमात्र धेरै हो । लगानीकर्ताका लागि यो समय धेरै होइन ।
एनआईबीएल समृद्धि योजनाको अधिक माग भएको खण्डमा १ अर्ब संकलन हुन्छ, सेयर बजार घट्दो क्रममा छ, सामूहिक लगानी कोषको बजार प्रतिस्पर्धी हुँदै गएको छ, लगानी नीति कस्तो छ ?
निश्चित आम्दानीको क्षेत्रमा र धितोपत्र बजारमा लगानी गर्ने हो । सेयर बजार परिसूचक १०८३ बाट ८५० को हाराहारीमा आएको छ । आधारभूत रूपमा बजार यो भन्दा धेरै घट्ने अवस्था देखिँदैन । कम्पनीअनुसार सेयर मूल्य हेर्दा पनि अधिकांश वाणिज्य बैंकको सेयर मूल्य हजारभन्दा तल छ । हालको मूल्यमा सेयर खरिद गर्दा करिब ५–६ प्रतिशतको इल्ड (बजार मूल्यमा प्रतिफल) धेरै कम्पनीले दिन सक्ने देखिन्छ । यो वाणिज्य बैंकको बचत खाताको ब्याजदरभन्दा धेरै प्रतिफल हो । प्रतिफल एकैपटक धेरैभन्दा पनि लामो समयका लागि लगानी गर्ने भएकाले विस्तारै बढ्दै जाने हो । त्यो लामो अवधिमा एकपटक सेयर बजारको ‘बुल टे«न्ड’ पनि भोग्न अवश्य पाइन्छ । त्यसैले हामीले सबै रकम एकैपटक लगानी गर्दैनौं । बजारको अवस्थालाई गहन अध्ययन तथा विश्लेषण गरेर लगानी बढाउँदै जान्छौं ।
६ प्रतिशतको प्रतिफल त बैंकमा निक्षेप राख्दा पनि आउँछ, त्यसका लागि किन एकाइ किन्ने भन्झट गर्ने ?
सामूहिक लगानी कोषको लगानीमा प्रतिफल निश्चित गर्न पाइँदैन । तथापि, हालसम्मको अनुभवमा सञ्चालित योजनाले राम्रै प्रतिफल वितरण गरेको तथ्य हामीसामु छ । कम जोखिममा आधारित रहेर धेरैभन्दा धेरै प्रतिफलका लागि हामीले हरेक समय बजारमा अवसर खोजेका हुन्छौं र सोहीअनुुरूप कार्य गरिरहेका हुन्छौं । दक्ष तथा अनुभवी जनशक्ति, सूचनामा पहुँच तथा सोको विश्लेषण, ठूलो आकार, आयमा कर छुट आदि विशेषताले गर्दा योजनाहरूले बढी आम्दानी गर्ने सम्भावना रहन्छ । योजनालाई हुने सम्पूर्ण नाफा प्रत्यक्ष रूपमा एकाइ धनीहरूको नै हुने हो । तसर्थ, बैंक निक्षेपलाई प्रतिफल निश्चित हुने बचतको रूपमा बुझ्दा उपयुक्त हुन्छ जबकि सामूहिक लगानी कोषमा राखिने पैसाचाहिँ लगानी हो, जसमा केही जोखिम त हुन्छ तर प्रतिफल राम्रो आउने सम्भावना पनि उत्तिकै रहन्छ ।
दोस्रो बजारमा कसरी लगानी गर्नुहुन्छ ?
हाम्रो लगानीको आधारभूत सिद्धान्त भनेको सेयर बजार घट्दा बजारको भन्दा कम नोक्सानी तथा बढ्दा बजारले भन्दा धेरै नाफा गर्ने हो । त्यसपछि हामीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा सरकारी ऋणपत्रको ब्याजदरलाई हेरेर पनि लगानी योजना तयार गर्छौं । लगानीका लागि योजना तर्जुमा गरी दोस्रो बजारको अवस्थाअनुसार कार्यान्वयन हुनेछ । बजार घटेको छ भने एकैपटक लगानी गर्दैनौं । बजार झन् घटेको खण्डमा पनि समायोजन गर्ने गरी लगानी नीति कार्यान्वयन गर्छाैं । तथापि, कम्पनीको गहन आधारभूत विश्लेषणबाट आउने तथ्य नै लगानीमा निर्णायक हुनेछ ।
लगानीकर्तालाई कस्तो प्रतिफल दिने योजना बनाउनुभएको छ ?
एकाइ धनीलाई यति नै प्रतिफल दिन्छौं भन्दा पनि हाम्रो उद्देश्य भनेको लगानीकर्तालाई सक्दो धेरै प्रतिफल दिने हो । हाल सञ्चालनमा रहेका सामूहिक लगानी कोषका योजनाले १४ देखि १५ प्रतिशत लाभांश दिएका छन् । बढ्दो प्रतिस्पर्धामा बजारको भन्दा बढी प्रतिफल दिन हामी प्रयासरत रहनेछौं ।
पुँजीबजारमा सामूहिक लगानी अवस्था कस्तो छ ?
पुँजीबजार चेतनाको दृष्टिले परिपक्व हुँदै आएको छ । बजारसम्बद्ध पक्षहरूले पनि सहयोगी भूमिका निर्वाह गरेका छन् । सञ्चालनको पहिलो चरणमा नीति–नियमका कारण समस्या थियो । हाल त्यो पनि सहज हुँदै आएको छ । पुँजी बजारमा गाउँ–गाउँमा रहेको सानो पुँजी परिचालन गर्ने मुख्य माध्यम भनेको सामूहिक लगानी कोष नै हो । यसका लागि हाल बन्दमुखी योजनामात्र सञ्चालनमा छन् । सामूहिक लगानी कोषको उद्देश्य हासिल गर्नका लागि खुलामुखी योजना सञ्चालन गर्न आवश्यक छ । खुलामुखी योजना सञ्चालनका लागि नीति–नियम तथा करको पक्षबाट सहयोग हुनु आवश्यक छ । सामूहिक लगानी कोषले खुलामुखी योजना सञ्चालनको सहज वातावरण तयार भएको खण्डमा समग्र अर्थतन्त्रमा पनि यसको योगदान देखिन्छ ।
पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले सामूहिक लगानी कोषले बजार सन्तुलनामा राख्न सहयोग गर्छ भन्ने अनि सामूहिक लगानी कोष नाफा केन्द्रित छ भन्नुभयो, कुरा बाझियो नि !
सामूहिक लगानी कोषको मुख्य उद्देश्य भनेको योजनाका एकाइ धनीलाई सक्दो धेरै प्रतिफल दिने हो । तथापि, बजारमा हुने हल्लाका भरमा अनावश्यक चलखेल तथा मिलेमतोका कारोबारबाट बजार बढाउन वा घटाउन खोज्नेलाई सामूहिक लगानी कोषले सेयरको माग तथा आपूर्तिबाट केही हदसम्म नियन्त्रण गर्न सक्छ । त्यो माग तथा आपूर्ति मिलाउन कोषहरूलाई आफ्नो आधारभूत विश्लेषण, बजारको सूक्ष्म अवलोकन तथा नाफा बुकिङको लक्ष्यले समेत प्रोत्साहित गर्ने हुन्छ, यसले कोष, साधारण लगानीकर्ता तथा समग्र बजारलाई समेत फाइदा हुन्छ । सामूहिक लगानी कोषको सुरुवाती चरणमा नियामक निकायसहित अन्य सरोकारवालाको बीचमा कोषको बजार सन्तुलनप्रतिको दायित्वबारे बुझाइमा केही बेमेल थियो, जुन अहिले समाधान भइसकेको जस्तो लाग्छ । समग्र बजार मजबुत हुँदै गएपछि उद्देश्य र दायित्वहरू अझै स्पष्ट हँुदै आउनेछ । हाल भर्खरमात्र फड्को मार्ने क्रममा रहेको सामूहिक लगानी कोषको क्रियाकलापबाट बजार सन्तुलन कायम हुने अवस्थाको आंकलन गर्न अलि हतार नै हुन्छ कि !
कारोबार दैनिकबाट साभार
प्रतिक्रिया