काठमाडौं । नेपाली बस्तुको व्यापार विस्तारमा सहयोग पुर्याउन चीन सरकारले ८ हजार ३० नेपाली बस्तुलाई शुन्य भन्सार दरमा चीन प्रबेश गर्न दिने भएको छ ।शुन्य भन्सारदर लागु भएका बस्तुलाई चिनियाँ बजारमा पुर्याउने विषयमा शुक्रबार बाणिज्य सचिव गोपाल मलेगो र नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईले नेपाल र चिनबिच लेटर अफ एक्सचेन्ज गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।
सो सुविधा एक वर्षभित्र कायान्वयनमा ल्याउने सहमति भएको छ । यस सम्झौताले नेपाली वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता बढाई निर्यात बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ ।
वाणिज्य सचिव मलेगोले सम्झौता कार्यान्वयनमा दुबै देश गम्भिर बन्नुपर्ने बताउँदै उनले नयाँ सम्झौताबाट नेपालको निर्यात बढाई चीनसँगको व्यापार घाटा कम गराउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
नेपालका लागि चिनिया राजदूत चुन्ताईले यस सम्झौताले नेपालको चीनसँगको व्यापारको आकार बढाई निर्यात बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनले दिएको सुविधाको भरपुर फाइदा उठाउन पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।
यसअघि चीनले सन् २००७ मा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरुलाई शुन्य भन्सार दरमा प्रवेश सुविधा दिएको थियो । सन् २०१२ मा उक्त संख्या बढाएर ७ हजार ७ सय ८७ पुर्याएको थियो ।
प्रतिक्रिया