काठमाडौं । अधिक तरलताको समस्या भोगिरहेका बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जामा प्राथमिकता दिन थालेका छन् । बाणिज्य बैंकहरु न्युनतम ८ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा लगानी गर्न थालेका छन् । अन्य क्षेत्रमा कर्जाको माग नभएका बेला बैंकहरुले कम झमेला हुने र लगानी र असुलीमा पनि सजिलो हुने भएकाले सेयर कर्जामा लगानी गर्न थालेका हुन् ।
अहिले सबैभन्दा कम सनराईज बैंकले ७.९९ प्रतिशत व्याजदरमै सेयर कर्जामा लगानी गरिरहेको छ । यसैगरी मेगा बैंकले पनि हालै मात्र ८.५ प्रतिशत व्याजदरमा सरल सेयर धितो कर्जा ल्याएको छ ।
३ ४ महिनाअघिसम्म सेयर धितो कर्जामा औशत १० प्रतिशत व्याजदर रहेकोमा हाल औशत ८ प्रतिशतमा बाणिज्य बैंकहरुले लगानी गरिरहेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले पनि औशतमा १० प्रतिशत व्याजदरमा लगानी गरिरहेका छन् ।
बैंकहरुमा तरलता बढी रहेको र कर्जाको माग नभएपछि कम व्याजदरमै सेयरमा लगानी गर्न थालेका हुन् ।
बैंकहरुले १ सय ८० दिनको औशत मुल्यका आधारमा ५० देखि ८० प्रतिशतसम्म लगानी गर्ने गरेका छन् ।
बैंकको सेयरमा लगानी बढेसँगै घट्दो बजार बढ्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया