काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नामसारीको क्रममा हराएका सेयर प्रमाणपत्र पाउनका लागि नयाँ व्यवस्था गरेको छ । प्रमाणपत्र हराएर समस्या भोगिरहेका लगानीकर्ता र सेयर दलालहरुलाई नयाँ ब्यवस्था अनुसार प्रमाणपत्र लिन नेप्सेले निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार दलाल कम्पनीहरुले सेयर हराएको व्यहोराको कागजात, सेयर खरिद बिक्रीको विवरण लगायतका विवरणसहित सर्भिलेन्स शाखामा सम्पर्क गर्न भनेको छ ।
नेप्सेले सुचना जारी गरी नामसारीको क्रममा हराएका सेयर प्रमाणपत्रहरुको नामसारी सुनिश्चित गर्न दलालहरुलाई सर्भिलेन्स शाखामा सम्पर्क गर्न भनेको छ । यसरी सम्पर्क गर्न जाँदा शेयर खरिद गर्ने दलालले निबेदनका साथ बिक्रेता दलालको निबेदन, शेयर बिक्रेता लगानीकर्ताले रकम बुझेको भपाई र शेयर प्रमाणपत्र हराएको ब्यहोराको कागजात, खरिदकर्ता लगानीकर्ताले सही गरेको शेयर खरिद बिक्रीको लिखत समेत पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।
कागजी प्रक्रियामा सेयर किनबेच गर्ने क्रममा शेयर प्रमाण पत्र हराउने, नामसारीमा पठाउँदा अर्को शेयर दलालको कार्यालयमा पुग्ने र नभेटिने घटना हुँदै आएका छन् ।
प्रतिक्रिया