काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि नेपाल बैंकको व्यवस्थापन हस्तान्रतण गरेको छ । विगत १३ वर्षदेखि सुधारकालागि हस्तक्षेप गरेको केन्द्रिय बैंकले आइतबार विषेष साधारणसभा गरी नयाँ सञ्चालक समितिलाई जिम्मा लगाएको हो । विशेष साधारणसभाले बैंकको सात सदस्यीय सञ्चालक समिति चयन गर्नुपर्नेमा दुइ जना भने निर्वरोध चयन गरेको छ ।
सर्वसाधारणबाट सञ्चालक समितिमा चर्चित लगानीकर्ता निर्मल प्रधानका छोरा निश्चल प्रधान र अर्का शेयरधनी सुरेन्द्रबहादुर सिंह निर्बिरोध चयन भएका छन् । नेपाल बैंकमा सर्वसाधारणको ३८ र सरकारको ६२ प्रतिशत स्वामित्व रहेकाले बहुसंख्य संचालकहरु भने सरकारले नै मनोनीत गर्नेछ ।
हाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मशेश्वरलाल श्रेष्ठले व्यवस्थापकीय नेतृत्व गर्दै आएका थिए । सोमबारदेखि श्रेष्ठ समूहको व्यवस्थापन टोली औपचारिकरुपमा राष्ट्र बैंक फर्किने छ । बैंकमा ५६ प्रतिशत खराब कर्जा र १० अर्ब बढीले पुँजीकोष ऋणात्मक भएपछि २०५८ चैत १ गते राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।
राष्ट्र बैंकले हस्तक्षेप गर्दा बैंकले ३४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो भने ७ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको वित्तीय स्वास्थ्य कमजोर भएकाले सर्वसाधारण निक्षेपकर्ताको निक्षेप जोखिममा परेको थियो । हाल बैंकले ६९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २२ अर्ब ६६ करोड रुपैयाँ लगानी छ । राष्ट्र बैंकले हस्तक्षेप गर्दा ५६ प्रपितशत रहेको खराब कर्जा अहिले ४।७४ प्रतिशतमा झरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको र १ सय २० शाखा र ६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको सुधार गर्न सरकारले विश्व बैंक र डिएफआइडिसँग ऋण तथा अनुदान लिएको थियो । ७७ बर्ष अघि स्थापना भएको यो बैंक नेपालकै सबैभन्दा पुरानो बैंक हो । सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्र सञ्चालन गरी समस्यामा परेका सरकारी लगानीका बैंकहरुलाई बचाएको हो ।
बैंकको जगेडा कोषलाई धनात्मक बनाउन बैंकले सम्पति २ अर्बको बिक्री र डिबेन्चर जारी गर्ने योजना बनाएको छ । बैंक भित्रको जटिलताले बिदेशी रणनीतिक साझेदार आउने वाताबरण भने तत्काल बन्ने देखिएको छैन ।
प्रतिक्रिया