काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा खटिएको नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले साँवा व्याज नबुझाउने ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको छ ।
समयमा ऋणको सावा र व्याज नबुझाउँदा बैंक समस्यामा पर्दै गएपछि सर्वसाधरणको रकम नडुवोस् भन्ने हेतुले केन्द्रिय बैंकले सो बैंकको व्यवस्थापन आफ्नो हातमा लिएको थियो । ब्यवस्थापन समितिले यस्ता ठूला ऋणीहरुबाट असुल गर्नुपर्ने सावाँ ब्याज ४३ करोड रहेकोमा १७ करोड ९३ लाख असुल भईसकेको जनाएको छ ।
समितिका अनुसार हिमालयन क्यापिटल मार्केट एण्ड ईन्भेष्टमेन्ट प्रा.लिबाट ७ करोड ४५ लाख, डेभ्लपमेन्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडबाट ३ करोड ५६ लाख, डीएनएस ईन्भेष्टमेन्टबाट १२ करोड १६ लाख रुपैयाँ असुल्न बाँकी छ ।
त्यसैगरी कुमारी बिल्डर्स एण्ड डेभ्लपमेन्ट कम्पनीबाट ५ करोड ४१ लाख र सांग्रिला हाउजिङ डेभलपमेन्टबाट ७ करोड १ लाख रुपैयाँ असुल उपर प्रक्रिया संचालन गरिएको छ । सो मध्ये डीएनएस ईन्भेष्टमेन्ट र कुमारी विल्डर्स एण्ड हाउजिङबाट मात्र रकम प्राप्त हुने क्रममा रहेको र अन्यबाट असुल उपर गरिसकिएको जनाईएको छ ।
ति उठाउन बाँकी ऋणहरु लक्ष्मीबहादुर श्रेष्ठकै आफन्त र दाजुभाइहरुले चलाईरहेकाले ति ऋणहरु उठाउन अलि कठिन भएको समितिका एक सदस्यले बताए ।
ब्यवस्थापन समितिका अनुसार ड्यु डिलिजेन्स रिपोर्ट ( डीडीए) मा उल्लेखित बिबरण अनुसार ऋण असुलीपछिको अबस्थामा एनसीसी बैंक स्वस्थ भई आम्दानी बढाउन सक्षम रहेको छ ।
राष्ट्र बैंकको नियन्त्रणमा रहेको यस बैंकको बार्षिक साधारणसभा कहिले हुने र कहिले शेयरधनीलाई बैंक हस्तान्तरण गर्ने बारेमा भने केही बताईएको छैन ।
प्रतिक्रिया