वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिट्यान्स आप्रवाह सामान्य बढ्यो, रेमिट्यान्स र निर्यातले पनि आयातलाई धानेन

अर्थटुडे
२०७१ पुष ४, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७१\०७२ को कात्तिकसम्ममा रेमिट्यान्स आय सामान्य बृद्वी भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार प्रकाशित गरेको प्रतिवेदन अनुसार कात्तिकसम्ममा रेमिट्यान्स आप्रवाह ०.८ प्रतिशतले बढेर १ खर्व ८० अर्व ४३ करोड रुपैयाँ पुगेको छ । असोजसम्ममा रेमिट्यान्स ०.६ प्रतिशतले घटेकोमा कात्तिकमा सकारात्मक देखिएको हो ।

nepal rastra bank
अघिल्ला वर्षको तुलनामा रेमिट्यान्सको यो वृद्वीदर निकै कम हो । ०७० कात्तिकमा मात्र रेमिट्यान्स आय ४०.५ प्रतिशतले बढेको थियो ।

विदेशबाट फर्किने नेपालीले पैसाको सट्टा सुन र टेलिभिजन ल्याउने प्रचलन बढ्दै गएपछि अर्थतन्त्रको आधार रेमिट्यान्स आय घट्न थालेको केन्द्रीय राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठ बताउछन् ।

‘झिटिगुन्टा’ व्यवस्था अन्र्तगत सरकारले विदेशबाट फर्किने नेपालीलाई ५० ग्राम सुन र ६ महिना विदेशमा काम गरेर फर्किनेलाई ३२ इन्चसम्मको टेलिभिजन विना भन्सार ल्याउन पाउने सुविधा दिएको छ । यो सुविधा अन्र्तगत सामान ल्याएर नेपाली बजारमा बेज्दा फाइदा हुने भएकाले विदेशबाट फर्किनेहरुले सुन र टेलिभिजन ल्याउने प्रचलन बढेको बताइन्छ ।

शोधानान्तर बचत ६ अर्ब
आर्थिक वर्ष २०७१\०७२ का चार महिनासम्ममा समग्र शोधनान्तर स्थिति ६ अर्ब १८ करोडले बचतमा रहेको छ । अघिल्ला वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्व ४४ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता ५ अर्ब ८६ करोडले घाटामा रहेको छ । ०७० असोजमा चालु खाता ४८ अर्व १४ करोडले बचतमा रहेको थियो । वस्तु तथा सेवा आयात उच्च दरले बढेको तथा अनुदान रकम घटेको र रेमिट्यान्स आय पनि बढ्न नसक्दा चालु खाता घाटामा गएको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप वृद्वीदर घट्यो
आर्थिक वर्ष ०७१÷०७२ को कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप वृद्वीदर घटेपनि कर्जा लगानीदर भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार ०७१ को असोजसम्ममा बैंकहरुको निक्षेप २.९ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा निक्षेप ५ प्रतिशतले बढेको थियो । यसैगरी आव ०७१÷०७१ को असोजसम्ममा बैंकहरुको कर्जा लगानी भने ५.९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकहरुको कर्जा ३.६ प्रतिशतले मात्र बढेको थियो । अधिक तरलताको समस्या झेलिरहेका बेला निक्षेप घटेर कर्जा बढेपछि बैंकहरुलाई राहत भएको छ ।

व्यापार घाटा उच्च
निर्यातको तुलनामा आयत उच्च बृद्वी भएपछि चालु आर्थिक वर्षको चार महिनामै व्यापार घाटा २७.४ प्रतिशतले बृद्वी भई २ खर्व २७ अर्व ३६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा व्यापार घाटा १७.१ प्रतिशतले मात्र बढेको थियो ।

०७१ कात्तिकसम्म नेपालले भारत, चिनलगायतका विभिन्न मुलुकमा २९ अर्ब ५५ करोड रुपैयाँ बराबरका विभिन्न बस्तु निर्यात गरेको छ भने यसै अवधिमा २ खर्व ५६ अर्व ९१ करोड बराबरको बस्तु आयात गरेको छ । यस अवधिमा ०.२ प्रतिशतले निर्यात घटेका बेला आयात भने २३.५ प्रतिशतले बढेको छ ।

कात्तिकसम्ममा भारतसँगको व्यापारघाटा २४.७ प्रतिशत, चिनसँगको ४८.५ प्रतिशतले बढेको छ । अघिल्लो कात्तिकमा भारतसँगको व्यापारघाटा २०.५ प्रतिशतले बढेपनि चिनसँगको व्यापारघाटा भने ७.२ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा भारतबाट आयात २०.६ प्रतिशतले बढेको छ । भारतबाट मुख्य यातायातका साधन तथा पाटपुर्जा, पेट्रोलियम पदार्थ, चामल, औषधीलगायतका वस्तहरुको आयात बढेको छ ।

०७० कात्तिकसम्ममा ७.९ प्रतिशत आयात घटेको चिनसँग यस कात्तिकमा ४९.५ प्रतिशतले बृद्वी भएको छ । चीनबाट दुरसञ्चारका उपकरण तथा पाटपुर्जा, भिडियो टेलिभिजन र पाटपुर्जा, रासायनिक मल र अन्य मशिनरी आयात उच्च बृद्वी भएको छ । यसबाहेक अन्य मुलकबाट पनि चाँदी, खानेतेल, हवाईजहाजका पाटपुर्जा, कच्चा पाल्म तेल, दुरसञ्चारका उपकरण तथा पाटपुर्जालगायतका वस्तहरुको आयात २० बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ