काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रति लिटर पाँच रुपैयाँ ५० पैसा मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रति लिटर ११६ र मट्टितेल तथा डिजलको ९२ रुपैयाँ पर्नेछ । त्यसैगरी हवाई ईन्धनमा १० रुपैयाँ मूल्य घटाईएको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासमा भने मूल्य घटाईएको छैन ।
भारतीय आयल निगम (आईओसी) को नयाँ मूल्य सूची अनुसार निगमले नेपाली बजारको भाउ समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर भन्दा तल आउँदा नेपालमा पनि मूल्य घट्दै गएको हो ।
अन्तर्राष्ट्रिय बजार अनुसार निगमले हरेक पन्ध्र दिनमा आईओसीबाट नयाँ मूल्य सूची पठाएपछि ईन्धनको मूल्यमा हेरफेर गर्दै आएको छ ।
मूल्य घटाएपछि निगमलाई पेट्रोलमा मासिक २१ करोड, मट्टितेलमा ३ करोड, डिजलमा १० करोड र हवाई इन्धनमा १२ करोड रुपैयाँ नाफा हुने देखिएको छ । खाना पकाउने ग्यासमा भने निगमलाई अझै ४४ करोड घाटा ब्यहोर्नुपर्ने स्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया